म्याग्दी ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको प्रथम जिल्ला भेलाबाट यूवराज रोकाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन भएको छ । शनिबार सदरमुकाम बेनीमा आयोजित भेलाबाट उपाध्यक्षमा छवि आचार्य, सचिव राजाराम बरुवाल, सहसचिव कल्पना केसी चयन भएका हुन् । त्यसैगरी कार्यसमिति सदस्यमा यादवप्रसाद पौडेल, सुनिता परियार, गुनमायाँ पुन, सन्तोष ढुंगाना, राजबहादुर केसी चयन भएका छन् ।
नवनिर्वाचित कार्यसिमितको कोषाध्यक्ष सहितका मनोनित पद नयाँ कार्यसमितिले चयन गर्ने उपाध्यक्ष आचार्यले जानकारी दिए । सम्मेलनको उद्घाटन समारोहमा केन्द्रिय प्रवक्ता एवम् प्रतिनिधिसभा सदस्य मनिष झा, प्रतिनिधिसभा सदस्य हरि ढकाल, विनिता कठायत, रास्वपा गण्डकीका अध्यक्ष राजन गौतमले वैकल्पिक शक्तिको रुपमा स्थापित भएको बताएका थिए ।
प्रवक्ता झालेसत्तापक्षबाट निरन्तर भइरहेको प्रहारले कुनै विचलित नहुन र संगठन विस्तारमा सक्रिय हुन समेत जिल्ला नेतृत्वलाई योजनाबद्ध रुपमा अगाडि बढ्न आग्रह गरेका छन् । उनले आगामी निर्वाचनमा पहिलो शक्ति बनाउने गरी सक्रिय हुन समेत निर्देशन दिए । यसअगाडिको नेतृत्व कमजोर हुदाँ जिल्लामा संगठन विस्तार सहितका विभिन्न गतिविधि अगाडी बढ्न नसकेको, जनआर्कषणलाई समेत असर गरेको भन्दै आलोचना भएको थियो ।
नवनिर्वाचत अध्यक्ष रोकाले आगामी बैठकबाट जिल्लाका सबै पालिका, वडास्तरसम्म पुग्ने गरी संगठन विस्तारको अभियान चलाउने उल्लेख गरे । उनले ०८४ सालको प्रतिनिधि र स्थानीय निर्वाचनका लागि उम्मेदवार तयारी गर्ने जिरिक गरे । राजनीतिक र सांगठनिक अभियान आवश्यक रहेको अध्यक्ष रोकाको भनाइ थियो ।
प्रकाशित मिति २०८१ पुस २८ गते आइतबार ०१:०९




