२०८३ साउन २१ गते बिहीबार

भैरहवा र पोखरा विमानस्थल विदेश जानेलाई डेडिकेटेड गरौँ, चिन्ता लिनै पर्दैनः महानिर्देशक

भैरहवा र पोखरा विमानस्थल विदेश जानेलाई डेडिकेटेड गरौँ, चिन्ता लिनै पर्दैनः महानिर्देशक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ ९ गते बुधबार ०१:४६

महानिर्देशक अधिकारीले अन्तर्राष्ट्रिय व्यापारमा जबरजस्ती किन गरेको भन्ने प्रश्नको जवाफ आफूसँग पनि नरहेको बताएका छन् ।

काठमाडाैं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले फेब्रुअरी ३ देखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा र थाइ एशियाले उडान शुरु गर्ने बताएका छन् ।

मंगलवारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो जानकारी दिए । उनले भैरहवाबाट अहिले पनि नेपाल एयरलाइन्स र फ्लाइ दुबईले उडान गरिरहेको बताए ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा—ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले पहल गरिरहेको उल्लेख गरे । विमान उडान सञ्चालन देशको जिडिपीसँग जोडिएको हुने भन्दै स्वेच्छिक राखेसम्म त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अन्य विमानस्थलमा जानेको संख्या कम हुने उनको भनाइ छ ।

उनले विदेश जानेहरुका लागि ५ सय मिटरभित्रै सबै सेवा उपलब्ध गराउने प्रतिवद्धतासहित अघि बढ्नसके भैरुहवा र पोखरा विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउने बताएका छन् ।

उनले भने, ‘पोखरा र भैरहवाको कुरामा अब सरकारले पनि यो कार्ययोजना पास गरेर विभिन्न क्षेत्रको कार्यक्रमहरु लिएर आएको छ । यसमा हामीले पाँच वटाको फ्लाइट भयो । अहिले त्यहाँ नेपाल एयरलाइन्स अपग्रेट गरिरहेको छ, फ्लाइ दुबई अपग्रेट गरिरहेको छ । जजिरा फेब्रुअरी ३ देखि गर्छ, थाइ एशिया फेब्रुअरी ३ देखि गर्दछ । पोखरामा हिमालयले ल्हासा गर्न सकिन्छ की भनेर हेरिरहेको छ । यसको किन फ्लाइट भएन भनेर सोधिरहँदाखेरी यसको सैद्धान्तिक कुरा के हो भने अन्तर्राष्ट्रियमा ट्राफिकहरु हेर्ने,नयाँ विमानस्थल बनाउन लाग्यो भने त्यसको फोरकास्ट गर्ने भनेको त्यो देशको अर्थतन्त्र त्यो देशको जिडिपी कति एग्रिसिप छ, कति ग्रोथमा गएको छ भन्ने हुन्छ । त्यसको सम्बन्ध देशको जिडिपीसँग हुन्छ । ट्राफिक देशको हो । ट्राफिक काठमाडौंको मात्रै, भैरहवाको मात्रै, ट्राफिक पोखराको मात्रै भन्ने हुँदैन । देशको हुन्छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयको लागि पर्मानेन्ट बन्द गर्नुप¥यो भने हामी हवाई यातायातसँग अवरुद्ध हुन्छौँ त हुँदैनौँ नि । भैरहवा र पोखरा चलाउँछौँ नि । स्वेच्छिक राखेसम्म, अप्सनल राखेसम्म कोही पनि नजाने रहेछ । अब यसको बाध्यकारी उपाय भनेको के हो भने श्रमको मान्छेलाई पोखरा, भैरहवाबाट गर्ने भनिन्छ । श्रमको थोरै दुःख छ त काठमाडौंमा । यति महंगो ट्रान्सपोर्ट, खाना, होटल छ । भिसा सेन्टर एक ठाउँमा छ, अर्को अर्को ठाउँमा छ । भनौँ न त भैरहवाबाट तिम्रो लागि एयरपोर्ट डेडिकेटेड । ५ सय मिटरभित्र सबै सुविधा हुन्छ । भिसा, ट्रेनिङ, इन्स्यारेन्स, मेडिकल त्यहीँ हुन्छ । भोलिदेखि चल्छ नि भैरहवा ।’

महानिर्देशक अधिकारीले अन्तर्राष्ट्रिय व्यापारमा जबरजस्ती किन गरेको भन्ने प्रश्नको जवाफ आफूसँग पनि नरहेको बताएका छन् ।

प्रकाशित मिति २०८१ माघ ९ गते बुधबार ०१:४६
हजुरको प्रतिक्रिया