काठमाडौं ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एकढिक्का भएर संसदमा एक स्वरका साथ एउटै आवाज उठाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट सरकारमा सहभागी मन्त्रीसँगको छलफलमा सभापति देउवाले एउटै आवाज उठाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् । सभापति देउवाको भनाइ उद्धृत गर्दै बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले सभापति देउवाले केही असन्तुष्टि भए पार्टीको बैठकमा राख्न र संसद र बाहिर प्रस्तुत हुँदा व्यक्तिगत नभइ पार्टीको रुपमा आफ्ना धारण राख्न निर्देशन दिएको जानकारी दिए ।
उनले बैठकमा मन्त्रीले सरकारमा भएका काम, कारबाहीबारे जानकारी गराएको उल्लेख गरे । उनकाअनुसार बैठकमा वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम, कारबाही, संसदमा प्रश्तुत भएका विधेयकहरु, अध्यादेश र आउने विधेयकहरुका विषयमा गहन रुपमा छलफल भएको छ । नेपाली काँग्रेस एक ढिक्का भएर एउटै आवाज र एउटै स्वरका साथ संसदमा प्रस्तुत हुने र बाहिर पनि एकढिक्का भएर प्रस्तुत हुने निर्णय भएको प्रमुख सचेतक घिमिरेको भनाइ छ ।
आर्थिक पक्षमा तत्काल केही सुधार गर्नुपर्ने भएकाले र मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन केही विधेयक संशोधन गर्नैपर्ने बाध्यता भएकाले अध्यादेश ल्याएको कुरा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले राखेको उनले जिकिर गरे ।
उनले भने, ‘वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम, कारबाही, संसदमा प्रश्तुत भएका विधेयकहरु, अध्यादेश र आउने विधेयकहरुका विषयमा गहन रुपमा छलफल भयो । नेपाली काँग्रेस एक ढिक्का भएर एउटै आवाज र एउटै स्वरका साथ संसदमा प्रश्तुत हुने र बाहिर पनि एकढिक्का भएर प्रश्तुत हुने । आर्थिक पक्षमा तत्काल केही सुधार गर्नुपर्ने भएकाले र मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन केही विधेयक संशोधन गर्नैपर्ने बाध्यता भएकाले यसलाई अध्यादेशको रुपमा ल्याइएको हो । केही समस्या छन् भने संसदीय दलमै कुरा राख्न र संसद अधिवेशनमा एकढिक्का भएर प्रश्तुत हुन निर्देशन दिनुभयो ।’
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधनका विषयमा सरकारले गम्भीरताका साथ गृहकार्य थालेको जानकारी दिए ।
उनले पार्टी बाहेक पनि सरकारको तर्फबाट संविधान संशोधनका लागि छुट्टै संयन्त्र बनाएर काम अघि बढाउनेबारेमा सरकारमा सहभागी मन्त्रीहरुले जानकारी गराएको उल्लेख गरे । आर्थिक गतिविधि चलायमान गर्नको लागि अध्यादेश ल्याएको र सबैले स्वागत गरेको उनले जिकिर गरे ।
उनले भने, ‘संविधान संशोधनका विषयमा हामीले गम्भीर गृहकार्य थालनी गरेका छौँ । त्यसमा एएटा छुट्टै संयन्त्र पनि बन्छ । त्यसमाथि पार्टीगत पनि बन्छ । संशोधनका विषयवस्तुहरु हुन सक्दछन् । सरकारबाट पनि एउटा संयन्त्र बनाएर त्यसउपर गम्भीर गृहकार्य गर्ने भन्ने नै हो । धेरै विधेयकहरु संसदमा धेरै वर्षदेखि पेण्डिङ रहेको र समयमा कार्यान्वयन नभएको अवस्थामा आर्थिक गतिविधि चलायमान गर्नको लागि अध्यादेशमार्फत छिटो छरितो हुने आशयले ल्याएको कुरा राख्नुभयो । त्यसलाई सबैतिरबाट स्वागत भइरहेको छ । संसदमा तत्काल नै अध्यादेश प्रश्तुत हुनेछ ।’
प्रवक्ता महतले अध्यादेश, सरकारको स्थितिबारे पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले जानकारी गराएको बताए । विचाराधिन विधेयक संसदबाट छिटो पारित गर्नेबारेमा छलफल भएको उनले जिरिक गरे ।
प्रकाशित मिति २०८१ माघ १२ गते शनिबार ०६:१०




