२०८३ साउन २१ गते बिहीबार

अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्यायौँः अर्थमन्त्री पौडेल

अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्यायौँः अर्थमन्त्री पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १३ गते आइतबार ०३:०५

उपप्रधानमन्त्री पौडेलले राजश्व संकलनमा सहयोगी भुमिका निर्वाह गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएको बताएका छन् ।

आईतवार विश्व भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अहिलेको सरकार सरकारहरुको सूचिमा अर्को एक थान सरकार थप्नका लागि नबनेको बताएका हुन् ।

उनले सरकार विशेष परिस्थितिमा बनेको उल्लेख गर्दै सरकारले आफ्नो अभिभारा पूरा गर्ने बताए । उनले निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरु सरकारले आगामी दिनमा पनि अघि बढाउने जिकिर गरे ।

सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरु अन्तिम नभएको र आगामी दिनमा अझ बढी काम गर्दै जाने उनको भनाइ छ । निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको मन्त्री पौडेलको तर्क छ ।

उपप्रधानमन्त्री पौडेलले भने, ‘अहिलेको सरकार सरकारहरुको सूचिमा अर्को एक थान सरकार मात्रै होइन, सरकार मुलुकमा चाहिन्छ, त्यस कारणले यो सरकार छ भन्नका लागि मात्रै होइन । यो सरकार विशेष परिस्थितिमा बनेको छ, विशेष अभिभारा पूरा गर्नका लागि बनेको छ । यो सरकारले जुन अभिभारा आफ्नो काँधमा लिएको छ । त्यसबाट पछि छुट्ने छुट यो सरकारलाई छैन । समस्त निजामति प्रशासन, भन्सार प्रशासन पनि सरकारको एउटा महत्वपूर्ण अंग हो । त्यसकारण यहाँहरुले आफ्नो जिम्मेवारीलाई महत्वका साथ पूरा गर्नुस् । अहिले निजी क्षेत्रका साथीहरुले सरकारले अघि सारेका अध्यादेशलाई बढो प्रशंसा गरिरहनुभएको छ । त्यसलाई उहाँहरुले सकारात्मक रुपमा व्याख्या र विश्लेषण गरिरहनुभएको छ । म भन्न चाहन्छु, यो हामीले अहिले चालेको कदमहरु अन्तिम कदम होइनन् । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नका निम्ति, अर्थतन्त्रलाई चलायमान बनाउनका निम्ति, उत्पादन, उत्पादकत्व वृद्धि गर्नका निम्ति, जिडिपी वृद्धि गर्नका निम्ति हामीले चालेको यो अन्तिम कदम होइन । सरकारले चालेको यो अन्तिम कदम होइन । यो एउटा कदम हो । अध्यादेशका माध्यमबाट कानून संशोधनको क्षेत्रमा यो कदमहरु चाल्यौँ । यस्ता कदमहरु हामी अनेक पटक चालिरहन्छौँ । यो जुन प्रकारको निराशा, शिथिलता, हतोत्साही मनोविज्ञान यो सरकार बन्दाको अवस्थामा प्राप्त गरेका थियौँ, त्यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नुपर्छ । निराशालाई आशामा बदल्नुपर्छ । अविश्वासलाई विश्वासमा बदल्नुपर्छ । शिथिलतालाई क्रियाशिलता र गतिशिलतामा बदल्नुपर्छ । हामीले नै अर्थतन्त्र चलायमान र गतिशिल बनाउने हो । हरेक नागरिकलाई सुखी र समृद्ध जीवनको प्रत्याभुति गर्ने हो भन्ने अठोटका साथमा सरकार क्रियाशिल छ ।’

उपप्रधानमन्त्री पौडेलले राजश्व संकलनमा सहयोगी भुमिका निर्वाह गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

राजश्व चुहावट, अनियमितताका प्रवृत्तिहरुलाई निरुत्साहीत गर्न, वैधानिक प्रणालीभित्र आफ्ना कारोबार सञ्चालन गर्न निजी क्षेत्रका छाता संगठनले आफ्ना सदस्यहरुलाई निर्देशित गर्न आग्रह गरेका छन ्।

प्रकाशित मिति २०८१ माघ १३ गते आइतबार ०३:०५
हजुरको प्रतिक्रिया