२०८३ साउन २१ गते बिहीबार

एमालेका तीन केन्द्रीय नेतामा काेराेना पुष्टि, काेराेनाकै कारण काँग्रेस केन्द्रीय समिति बैठक पनि स्थगित

एमालेका तीन केन्द्रीय नेतामा काेराेना पुष्टि, काेराेनाकै कारण काँग्रेस केन्द्रीय समिति बैठक पनि स्थगित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख १५ गते बुधबार ०१:४५

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी तीन नेतामा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका छन् । स्थायी कमिटी सदस्य...

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी तीन नेतामा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका छन् ।

स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी तथा केन्द्रीय सदस्यद्वय खिमलाल भट्टराई र विष्णु रिजालमा संक्रमण पुष्टि भएको छ । रायमाझी प्रधानमन्त्री ओलीसहित एमालेका शीर्ष नेताहरूको पछिल्लो लहरमा बसेका थिए ।

उनलाई उपचारका लागि सैनिक अस्पतालमा राखिएको छ । भट्टराई र रिजाल भने होम आइसोलेसनमा छन् । वैशाख १० गते एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बसेको थियो ।
रिजाल र भट्टराईले मंगलवार आफूहरू संक्रमित भएको खुलाएका छन् । रायमाझीलाई भने सोमवारै संक्रमण पुष्टि भएको थियो । यद्यपि बैठक सकिएको दुई तीन दिनपछिमात्र ती नेताहरुमा संक्रमण दखिएकाले सबै नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा नपर्ने बताइएको छ ।

रायमाझी त्यसपछिको मन्त्रिपरिषद् बैठकमा पनि सहभागी थिए ।

 

नेताहरुमा कोरोना देखिएपछि काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

नेताहरुमा कोरोना संक्रमण पुष्टि  भएपछि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले केही नेता र कर्मचारीमा कोरोना संक्रमण देखिएकाले बैठक स्थगित गरिएको बताए । ‘आज बैशाख १५ का लागि निर्धारित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ ।

बैठक तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका केही साथीहरु एवं केन्द्रीय कार्यालयकै कर्मचारीहरु समेतमा कोरोना पोजेटिभ देखिएको छ । यस्तो स्थितिमा कोरोनाको तिब्र संक्रमण बढिरहेको बेला ठुलो संख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त देखिएकाले निर्देशानुसार बैठक स्थगन गरिएको छ’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति २०७८ वैशाख १५ गते बुधबार ०१:४५
हजुरको प्रतिक्रिया