काठमाडौं ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पती शुद्धीकरण निवारणका लागि सम्बन्धित निकायहरुले अनुसन्धान र अभियोजनको कामलाई तिब्रता दिन जरुरी रहेको बताएका छन् ।
सोमवार सम्पती शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले वित्तीय अपराध न्युनिकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायहरुले समन्वयात्मक रुपमा काम गरी अनुसन्धान र अभियोजनलाई प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले आगामी दिनमा अन्तर्राष्ट्रिय संस्थाहरुले बनाएको मापदण्ड परिपालना र आफैले निर्माण गरेको कानून र नियमावलीहरुको कार्यान्वयनमा उत्कृष्ट हुनुपर्नेमा जोड दिए । उनले निर्दोष दण्डित हुँदैन र दोषीले उन्मुक्ति पाउँदैन भन्ने मानक स्थापित गर्न सक्नुपर्ने उल्लेख गरे ।
सम्पती शुद्धीकरणमा दोषी भएका जो कसैलाई पनि दण्डित गरिने मन्त्री पौडेलको भनाइ छ । उनले निर्दोष दण्डको दायरामा आउँदैनन् भन्ने मानक स्थापित गर्ने हिसावले आउने दिनमा प्रभावकारी काम हुनुपर्नेमा जोड दिए ।
अर्थमन्त्री पौडेलले सम्पती शुद्धीकरणको समस्या नेपालको मात्रै नभएर विश्वकै भएको उल्लेख गरे । धेरै मुलुकहरु यो समस्याबाट बाहिर आउन, समाधान गरी वित्तीय स्वच्छता र सुशासन कायम गर्ने प्रयासमा रहेको उनले जिकिर गरे । उनले नेपाल सरकारले पनि आवश्यक कानून निर्माण केही प्रयास गरिरहेको बताएका छन् ।
उनले भने, ‘सम्पती शुद्धीकरणको समस्या नेपालको मात्रै समस्या नभएर विश्वकै समस्या हो । धेरै मुलुकहरु यो समस्याबाट बाहिर आउन, समाधान गरी वित्तीय स्वच्छता र सुशासन कायम गर्नका लागि प्रयास गर्दै आएका छन् । नेपाल सरकारले पनि केही प्रयास गरिरहेको छ । सरकारले आवश्यक कानून निर्माण गरेको छ । नियम,संरचना निर्माण गरेको छ । अनुसन्धान र अभियोजनका कामकारबाहीलाई अघि बढाएको छ । यसरी केही महत्वपूर्ण काम गरेकै छ । तर यो बीचमा जति गर्न सक्नुपर्ने हो त्यति गर्न सकेका छैनौं । सम्पत्ति शुद्धीकरणको विषयमा नेपालले विश्वसामु उच्च मनोबलका साथ प्रश्तुत हुन सक्थ्यो । त्यो अवस्था रहेको छैन । पहिलो र दोस्रो चरणको मूल्याङ्कन पार गरेर अघि बढेको नेपाल तेस्रो चरणमा आइपुग्दा दुविधामुक्त रुपमा अगाडि बढ्न सक्नुपर्ने थियो । कुनै अनुसन्धानमा छैनौं । कसुर जन्य सम्पती शुद्धीकरणको विरुद्धमा सम्पती शुद्धीकरण निवारणको अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाएका छौं भनेर गर्व गर्नसक्ने हुनुपर्ने थियो ।तर यो बीचमा प्रभावकारी र तत्परताका साथ कामहरु हुन सकेका छैनन् । आउने दिनमा अन्तर्राष्ट्रिय संस्थाहरुको परिपालना र आफैले निर्माण गरेको कानूनको कार्यान्वयनमा हामी उत्कृष्ट हुनुपर्छ । अनुसन्धान अभियोजनको कामलाई तिब्रता दिन जरुरी छ । निर्दोष दण्डित हुँदैन । दोषीले पनि उन्मुक्ति पाउँदैन भन्ने मानक स्थापित गर्न सक्नुपर्छ । सम्पती शुद्धीकरणमा दोषी भएका जो कसैलाई दण्डित गर्छ । निर्दोष कसैले पनि भयवित हुनुपर्दैन । उनीहरु दण्डको दायरामा आउँदैनन् भन्ने मानक स्थापित गर्ने हिसावले आउने दिनमा प्रभावकारी काम हुनेछन् । हामी देशभित्र विश्वसामु सम्पती शुद्धीकरण निवारणको प्रश्नमा उत्कृष्ट राष्ट्रको पहिचान स्थापित गर्न सक्नेछौं भन्ने अपेक्षा छ ।’
उनले अनुसन्धान र अभियोजनका काम, कारबाहीलाई अघि बढाएको उल्लेख गरे । यो बीचमा सम्पती शुद्धीकरण निवारणका लागि धेरै काम गर्नुपर्ने भएपनि सोचेअनुसार काम नभएको उनले स्वीकार गरे ।
नेपालको पहिलो र दोस्रो चरणको मूल्याङ्कन पार गरेर अघि बढेको नेपाल तेस्रो चरणमा आइपुग्दा दुविधामुक्त रुपमा अगाडि बढ्नसक्ने अवस्था नभएको उनको भनाइ छ ।
प्रकाशित मिति २०८१ माघ १४ गते सोमबार ०२:५८




