बागलुङ ।
बागलुङमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले मगर र गुरुङ भाषा संरक्षणमा राज्यले चासो दिनु पर्नेमा जोड दिएका छन् ।
मगर भाषा र गुरुङ भाषालाई प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा निर्माणका लागि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय मातृ भाषा हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।
उनीहरुले मगर र गुरुङसहित अन्य जातजातिको भाषा समेत संरक्षण गर्नु पर्ने बताए । दुई भाषालाई सरकारी कामकाजको भाषा बनाउनका लागि धेरै प्रक्रियाहरु पूरा गर्नु पर्ने उनीहरुको बनाइ थियो । मगर अभियान्त तेजेन्द्र थापाले अब बन्ने विधेयकमा कुनै पनि त्रुटी नआउने गरि बनाउनु पर्ने बताए । सरकारले बनाएको मस्यौदामाथि आफ्नो धारणा राख्दै त्यसमा भएको त्रुटी र थप सुझावसमेत राखेका थिए ।
कार्यक्रममा बागलुङसहित धौलागिरीका म्याग्दी, मुस्ताङ र पर्वतका मगर तथा गुरुङ अभियान्ताहरुको सहभागिता रहेको थियो । सो अवसरमा म्याग्दीको मंगला गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र बागलुङको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले यसको कार्यान्वयन भएपछि कर्मचारी व्यवस्थापनमा केही समस्या आउन सक्ने भन्दै त्यसको व्यवस्थापनमा पनि ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।
उनीहरुले गण्डकी प्रदेशभर बस्ने मगरहरुले फरक–फरक ठाउँमा खाम भाषा, मगर खाम भाषा र मगर भाषा गरि विभिन्न प्रकार भाषा बोल्ने गरेको भन्दै सरकारले साझा मगर भाषालाई कामकाजको भाषाको रुपमा राख्नु पर्ने बताएका थिए ।
कार्यक्रममा अन्य सहभागीहरुले पनि मस्यौदामाथि टिकाटिप्पणी र सुझाव दिएका थिए । सो अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकमार थापाले सबै जातजातिका कला, संस्कृति र भाषा संरक्षणमा सरकार लागि रहेको बताए ।
प्रकाशित मिति २०८१ माघ १५ गते मंगलबार ०६:१८




