काठमाडौं ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘वेल इक्युप्ड मोबाइल फुड ल्याब भ्यान’मार्फत बल्खु तरकारी बजारमा विषादी परीक्षण गरेको छ ।
विभागको दक्ष जनशक्तिमार्फत ९ प्रकारका तरकारी नमूना लिएर विषादी परीक्षण गरेको हो । परीक्षणका क्रममा अधिकांश तरकारी खानयोग्य भेटिएको विभागले जनाएको छ । विभागका विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बल्खु तरकारी बजारका ९ प्रकारका तरकारी नमूनाहरुको परीक्षणमा २० प्रतिशतसम्म विषादी भेटिएको बताए ।
उनले उक्त परीक्षणको नतिजा ठिक रहेको उल्लेख गरे । परीक्षण गरिएको सबै तरकारी खान मिल्ने रहेको उनले जिकिर गरे । न्युनतम २ प्रतिशतदेखि अधिकत्तम २७ प्रतिशतसम्म ‘इन्जाईम इन्हिभिसन’ पाइएको बताए । इन्जाईम इन्हिभिसन ३५ प्रतिशत भन्दा कम भएकालाई खान योग्य मानिन्छ ।
३५ देखि ४५ प्रतिशत इन्जाईम इन्हिभिसन भएकोलाई क्वारेन्टाइन होल्ड गरी पुनः परीक्षण गर्ने र ४५ प्रतिशतभन्दा बढी आए अस्वीकृत गरी नष्ट गरिने प्रावधान रहेको उनको भनाइ छ । बल्खु तरकारी बजारमा विभिन्न २० जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक, नुवाकोट, रामेछाप, सर्लाही, धनुषा लगायतबाट आएका तरकारीहरुको नमूना संकलन गरेर परीक्षण गरेको उनले जानकारी दिए ।
उनले भने, ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न जिल्लाबाट काठमाडौंमा भित्रने तरकारीको गुणस्तर,विषादीजन्य वस्तुको अवस्थाका विषयमा नमूना संकलन र परीक्षणको लागि मोबाइल भ्यानसहित प्रयोगशालामा रहेका दक्ष जनशक्तिसहित तरकारी बजारमा परीक्षणको लागि आएका छौं । गत हप्ता कालिमाटी तरकारी बजार तथा फलफूल बजार विकास समितिमा विभिन्न जिल्लाबाट भित्रने तरकारीहरु नमूना संकलन गर्न राति १० देखि ६ बजेसम्म संकलन गरेर परीक्षण गरेका थियौं । त्यहाँ विषादीजन्य वस्तुहरु धेरै मात्रामा पायौं । आज बल्खुमा अनुगमन गरौं । बल्खुमा कालिमाटीबाट तरकारी आउने रहेछ । कालिमाटीबाट आएका तरकारीको बल्खुबाट नमूना संकलन गरेर परीक्षण गरेका छौं । २० जिल्लाहरु काठमाडौं,भक्तपुर,ललितपुर,काभ्रे,नुवाकोट,रामेछाप,सर्लाही,धनुषा लगायतबाट आएका तरकारीहरुको नमूना संकलन गरेर परीक्षण गरेका छौं । नेपाल सरकारको मापदण्डअनुसार विषादीको अवशेष ३५ देखि ४५ प्रतिशत भेटियो भने होल्ड गर्छौं । त्यो भन्दा बढी भयो भने फाल्नुपर्छ । आज बल्खुमा परीक्षण गर्दा ९ वटा नमूनाको परीक्षण गर्दा बढीमा २० प्रतिशत मात्रै पाएका छौँ । यो रायोको सागमा भेटिएको छ । यो ठिक छ । विषादीजन्य तरकारीको प्रयोगले क्यान्सर जस्ता रोगहरु लाग्ने गर्छ । उपभोक्ताहरुले विषादीबाट बच्नको लागि तरकारी किनेर तीन दिनसम्म होल्ड गर्नुपर्छ ।तातोपानीमा नुन राखेर तरकारी डुबाएर मात्रै खान योग्य हुन्छ ।’
मोबाइल फुड ल्याब भ्यानबाट विभागले उपत्यकाका सबै तरकारी बजारमा जीवनाशक विषादीको परीक्षण गर्ने अभियान चलाइरहेको उनको भनाइ छ ।
प्रकाशित मिति २०८१ माघ १६ गते बुधबार ०२:४६




