काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनको सन्दर्भमा आइपरेका समस्या समाधानका लागि संविधान संशोधन हुने बताएका छन् ।
बुधवार सिंहदरबारस्थित शहीदहरुको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनमा आएका जटिलतालाई फुकाउन संविधान संशोधन हुने बताएका हुन् ।
उनले अब लोकतान्त्रिक प्रणालीमा देश आइसकेको भन्दै नेपाललाई शान्तिपूर्ण, सुशासनयुक्त, भ्रष्टाचारमुक्त नेपाल, समृद्धितर्फ अघि बढेको, विकासको बाटोमा अघि बढेर समृद्धि हाँसिल गर्न संकल्पित रहेको नेपाल र सुखी नेपालीहरु भएको नेपालको गन्तव्यतर्फ लैजान सरकारले काम गरिरहेको बताए ।
देशमा कानूनी राज्य स्थापनाका लागि सरकारले काम गरिरहेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले लोकतन्त्रका नाममा अराजकता फैल्याउने, जनतालाई विभाजित गर्ने, साम्प्रदायिक विद्ेवेष फैल्याउने, देशलाई एकतावद्ध हुन नदिने कुराहरु स्वीकार्य नभएको बताउनु उल्लेख गरे ।
विकास, शान्ति सुव्यवस्था, राष्ट्रिय एकतावद्ध राष्ट्र निर्माण गर्ने अभियानमा लाग्ने कुरामा अहिलेको सरकारले काम गरिरहेको उनले जिकिर गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘अब हामी लोकतान्त्रिक प्रणालीमा आइसकेका छौँ । नेपाललाई शान्तिपूर्ण नेपाल, सुशासनयुक्त, भ्रष्टाचारमुक्त नेपाल, समृद्धितर्फ अघि बढेको, विकासको बाटोमा अघि बढेर समृद्धि हाँसिल गर्न संकल्पित रहेको नेपाल र सुखी नेपालीहरु भएको नेपालको गन्तव्यतर्फ हामी अघि बढिरहेका छौँ । लोकतान्त्रिक प्रणालीको रक्षाको लागि, लोकतान्त्रिक प्रणालीलाई लोकतान्त्रिक प्रक्रिया अन्तर्गत सञ्चालन गर्नका लागि, यसलाई संवैधानिक र कानूनी राजको हिसावले लिएर जानका लागि, कानूनलाई न्यायोचित कानूनका रुपमा निर्माण गर्नका लागि, संशोधन गर्नका लागि र संविधानमा कतिपय कमीहरु रहेका छन् भने वा संविधान कार्यान्वयनको सन्दर्भमा कतिपय ठाउँमा यदी परिवर्तन गर्न आवश्यक देखियो भने त्यसलाई यथोचित ढंगले संवादबाट सबैलाई सहभागी गराउने प्रयासका साथ संशोधन गर्ने कुरामा पनि अहिलेको सरकार प्रतिवद्ध छ । यो लोकतान्त्रिक सरकार हो, यसका आचरण लोकतान्त्रिक हुनेछन् ।’
प्रधानमन्त्री ओलीले नेपाल र नेपाली जनतालाई कुनै दुःख नहुने गरी काम गरिरहेको बताए । उनले लोकतन्त्र एनार्किजम नभएको भन्दै लोकतन्त्र विकसित, व्यवस्थित, सभ्य र सुशासनयुक्त प्रणाली भएको उल्लेख गरे ।
प्रकाशित मिति २०८१ माघ १६ गते बुधबार ०३:११




