काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको राष्ट्रिय एजेण्डा रहेको बताएका छन् ।
शहीद दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले नेपाल सरकार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नका निमित्त कटिवद्ध रहेको बताएका हुन् ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमले नै संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्तिको स्थापना गर्ने मुलुकमा शान्ति स्थापना गर्ने, मुलुकमा विकास र समृद्धिको यात्रा अघि बढाउने दिशामा दृढतापूर्वक अघि बढेको उल्लेख गरे ।
एकतावद्ध भइ राष्ट्र निर्माणमा हातेमालो गर्न आह्वान गरे । राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्दै अघि बढ्न जरुरी रहेको गृहमन्त्री लेखकको भनाइ थियो । उनले लोकतन्त्रको रक्षा गर्दै शहीदहरुको बलिदानलाई सार्थक बनाउन जरुरी रहेको जिकिर गरे ।
उनले भने, ‘संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको राष्ट्रिय एजेण्डा हो । नेपाल सरकार सम्माननीय प्रधानमन्त्रीज्युको नेतृत्वमा यो संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नका निमित्त हामी कटिवद्ध छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमले नै हाम्रो संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्तिको स्थापना गर्ने मुलुकमा शान्ति स्थापना गर्ने, मुलुकमा विकास र समृद्धिको यात्रा अघि बढाउने, संविधानका जुन कल्पनाहरु छन्, त्यसलाई पूर्णता दिनका निमित्त हामी दृढतापूर्वक अघि बढेका छौँ ।’
.
गृहमन्त्री लेखकले शहीदहरुको देखाएको बाटोमा अघि बढ्दै सुशासन, स्थायित्व र समृद्धिको मार्गलाई सुदृढ गर्दै जानु सबैको कर्तव्य भएको उल्लेख गरे ।
नागरिकको सुरक्षाको प्रत्याभुति गर्न, मुलुकमा शान्ति, स्थिरता तथा विधिको शासन स्थापना गर्न निरन्तर क्रियाशिल रहेको उनको भनाइ छ ।
प्रकाशित मिति २०८१ माघ १६ गते बुधबार ०३:२१




