गोरखा ।
नेपाली काँग्रेस गोरखाले सञ्चालन गरेको सय दिने अभियान सफलतापूर्वक सम्पन्न गरेको छ।
यस अभियानका क्रममा जिल्लाका ११ वटै पालिकाका ९४ वटा वडामा प्रतिनिधिहरू खटाइएका थिए। अभियानका उपलब्धिहरू र भविष्यका योजनाहरू बारे पार्टीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
जिल्ला पार्टी सभापति नन्दप्रसाद न्यौपानेले अभियान निकै सफल रहेको बताउँदै पार्टीका प्रतिनिधिहरूले वडा तहमा गरेका छलफल र कार्यक्रमहरूको प्रगति बारे विस्तृत जानकारी दिएका थिए । उनले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा चिसो सुरु हुन अघि नै अभियानका कार्यक्रमहरू सम्पन्न गरिएको बताए ।
धार्चेमा भने जाडो कम भएपछि फागुनमा थप कार्यक्रम गर्ने योजना रहेको समेत जानकारी दिए । केन्द्रीय प्रतिनिधि सरस्वती अर्याल तिवारीले अभियान उपलब्धिपूर्ण रहेको बताउँदै पार्टीका साथीहरू, अग्रजहरू र जनतासँग संवाद गर्ने मौका मिलेको बताइन्।
उनले माओवादीको प्रभाव कम हुँदै काँग्रेसको प्रभाव बढ्दै गएको दाबी गरिन्। यसैगरी, अभियानका क्रममा काँग्रेसले हरेक वडामा कम्तिमा एक लाख रुपैयाँको कोष निर्माण गरेको छ। पार्टीका सदस्य र शुभेक्षुकहरुबाट संकलित रकम वडा समितिको खातामा जम्मा गरी चेक मार्फत स्थानीयको अफ्ठेराहरूमा खर्च गरिने सभापति न्यौपानेले बताए ।
प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०१:१७




