काठमाडौं ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयक वाक स्वतन्त्रतामाथि नियन्त्रण गर्न नभइ प्रभावकारी नियमनका लागि भएको बताएका छन् ।
शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सञ्चारमाध्यमहरुले वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न कानून ल्याउँदैछ भनेर बहस र प्रचार गरेको कुरा नमिलेको बताए ।
उनले सरकारले वाक स्वतन्त्रता वा सञ्चारमाध्यमलाई नियन्त्रण गर्नेगरी नभइ नियमन गर्न र अनुशासनको दायरामा राख्न विधेयक ल्याएको उल्लेख गरे ।
प्रभावकारी नियमनका लागि कानूनी प्रवन्धहरु जरुरी रहेकाले विधेयक ल्याइएको उनको भनाइ छ ।
उनले भने, ‘मिडियाको वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न कानून ल्याउँदैछ भनेर बहस र प्रचार गरेको कुरा मिलेको छैन । सरकारले वाक स्वतन्त्रता वा सञ्चारमाध्यमलाई नियन्त्रण गर्नेगरी होइन, नियमन गर्न, अनुशासनको दायरामा राख्नको लागि यि विधेयकहरु ल्याएको छ । संसदमा छलफल चलाएको छ । तपाईंहरुका रचनात्मक सुझावहरुको अपेक्षा गर्न चाहन्छु । नियन्त्रणका लागि होइन, प्रभावकारी नियमनका लागि कानूनी प्रवन्धहरु जरुरी छ । त्यसका लागि सरकारले काम गर्दछ ।’
विधेयकबारे हरेक सांसदले संशोधनमार्फत सुझाव दिनसक्ने उनले जिकिर गरे ।
प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०६:५४




