पोखरा ।
पोखरा महानगरपालिका–१६ बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयमा २ दिने नाटक महोत्सव आयोजना गरिने भएको छ ।
विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न विद्यालयले पोखरा थिएटरसँग सहकार्य गरी यही माघ २४ र २५ गते नाटक महोत्सव आयोजना गरेको हो ।
महोत्सवमा ५ वटा नाटक मञ्चन गरिनुका साथै विद्यालयको शैक्षिक विकास र विद्यार्थीलाई कलाप्रति प्रेरित गर्न विभिन्न विषयमा बहस हुने विद्यालयका सुचना अधिकारी जयराम पौडेलले जानकारी दिए ।
उनकाअनुसार नाटक महोत्सवमा साहित्यकार सरुभक्तले लेखेका गिती नाटक ज्यानमाया परिवर्तनको निर्देशनमा मञ्चन हुनेछ । यस्तै, सरुभक्तकै बालनाटक भ भ भ भुत मिना भण्डारीको निर्देशनमा प्रस्तुत हुनेछ ।
महोत्सवमा कवि तीर्थ श्रेष्ठको आमा कविता नाटक रमेशबाबु तिमिल्सिनाको निर्देशनमा मञ्चन हुनेछ भने टंक चौलागाइले लेखेको रोल नम्बर ४ नाटक धनकाजी श्रेष्ठको निर्देशनमा मञ्चन गरिनेछ । महोत्सवमा परिवर्तनको निर्देशनमा तुलना पनि प्रदर्शन गरिने सुचना अधिकारी पौडेलले बताए ।
महोत्सवका अवसरमा रंगकर्मीसँग रंकमञ्च विषयमा प्राचार्य डाक्टर रामचन्द्र पोखरेल र परिवर्तनले बहस गर्नेछन् भने कुशल अभिभावक कला र विद्यार्थी जागरण कलाका विषयमा प्रितम पौडेल, पुस्तक किन र कसरी पढ्ने विषयमा शिव शंकल्पले ब्याख्यान दिनेछन् ।
महोत्सवमा विद्यालय परिसरमा कला प्रदर्शनी, फुड स्टल, पुस्तक र शैक्षिक प्रदर्शनीका साथै विशिष्ट पुरस्कार वितरण पनि गरिनेछ ।
२०४७ सालमा वसन्तबहादुर बानियाद्धारा स्थापित प्रगति माविले शौक्षिक विकास गर्न र विद्यार्थीका प्रतिभा प्रष्फुटन गर्न विभिन्न सिर्जनशील कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयका शौक्षिक प्राचार्य महेन्द्र थापाले बताए ।
उनले नाटक महोत्सवमा सहभागी भएर विद्यार्थीका कला हेर्न पनि अभिभावक लगायत सबैलाई आग्रह गरेका छन् ।
प्रकाशित मिति २०८१ माघ १९ गते शनिबार ०१:३१




