२०८३ साउन २१ गते बिहीबार

अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे

अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १९ गते शनिबार ०३:१८

सरकार सुशासनको प्रत्याभुति दिने, राजनीतिक स्थिरता, लगानी भित्र्याउने वातावरण बनाउने दिशामा अघि बढिरहेको बताएका छन् ।

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले ल्याएको अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको बताएका छन् ।

शनिवार वागलुङमा इला कम्फोर्ट होटलको शुभारम्भ गर्दै उनले निजी क्षेत्रलाई आकर्षित नगरी देश बन्न नसक्ने बताउँदै पुँजीपतीहरुलाई गलत भाष्यद्वारा नराम्रो बनाइएको बताएका हुन् ।

धनी मानिसलाई लगानी गर्नका लागि वातावरण दिनुपर्ने र सरकारले अहिले लगानी सहजताको लागि काम गरिरहेको उनले उल्लेख गरे । मन्त्री पाण्डेले काँग्रेस र एमाले दुई ठूला एक ठाउँमा आएको बेलामा लगानी ढुक्क भएर गर्न आग्रह गरे ।

अस्थिर राजनीतिका कारण धेरै पछौटेपन भोग्नुपरेकाले मजबुत सहकार्य गरेर अघि बढिरहेको उनले जिकिर गरे ।

उनले सरकार सुशासनको प्रत्याभुति दिने, राजनीतिक स्थिरता, लगानी भित्र्याउने वातावरण बनाउने दिशामा अघि बढिरहेको बताएका छन् ।

मन्त्री पाण्डेले भने, ‘अध्यादेशले लगानीको वातावरणलाई सहज बनाउनेछ । निजी क्षेत्रलाई हामीले आकर्षित नगरीकन कुनै उपाय नै छैन । हाम्रो देशको गलत भाष्य भनेको, लगानी कर्ता भनेको, पुँजीपती भनेको पुँजी लगानीका लागि हिम्मत, आँट र प्रयत्न गर्नेहरुकाप्रति केही नेगेटिभ भाष्य बनेको थियो, यसलाई हामी चिर्दै जानेछाँै । धनी मानिसलाई लगानी गर्नका लागि वातावरण दिनुपर्छ । दियो भने मात्रै त्यो देश धनी हुन्छ । धनीलाई पुँजी लगानी गर्ने वातावरण दिने हो । धनीले कर छली नगरोस्, राज्यलाई बुझाउनुपर्ने कर बुझाओस् । श्रम शोष नगरोस् र उपभोक्तालाई ठगी नगरोस् भन्ने वातावरण बनाउनु पर्छ ।’

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सांसद जीवन परियारले अहिले सरकारले ल्याएका अध्यादेशहरु निजी क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी आएको बताए ।

उनले उद्यम व्यवसायलाई सरकारले सफल बनाउने गरी अध्यादेश ल्याएको उल्लेख गरे ।

उनले भने, ‘अहिले आइरहेका जति पनि अध्यादेशहरु छन्, त्यो अध्यादेशहरुमा विशेष गरी निजी क्षेत्रलाई प्रमोट गर्नेगरी, उद्यम व्यवसायलाई सफल बनाउने गरी ति अध्यादेश आएका छन् भन्नेकुरामा कुनै दुईमत छैन । नेपालमा पर्यटन क्षेत्रको राम्रो सम्भवना छ ।’

बागलुङमा सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोक मार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाहरूका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध हुने आइएमई ग्रुपको भनाइ छ ।

आइएमई ग्रुपको लगानीमा वागलुङ बजारमा सञ्चालनमा आएको इला कम्फोर्ट लक्जरी होटल करिव ३० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको हो ।

होटलले वागलुङमा स्तरीय आवासको लागि नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको छ ।

लगभग ४ रोपनी जग्गामा फैलिएको, इला कम्फोर्ट बागलुङमा २७ अतिथि कक्ष, दुई सुन्दर सुइटहरू र एक विशेष पेन्ट हाउस सहित ३० वटा आकर्षक ढंगले डिजाइन गरिएका कोठाहरू छन् ।

प्रकाशित मिति २०८१ माघ १९ गते शनिबार ०३:१८

हजुरको प्रतिक्रिया