काठमाडौं ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालस्थित इजरायली राजदुत श्मुलिक आरी बासले शिष्टाचार भेट गरेका छन् ।
सोमवार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आई राजदुत श्मुलिकले शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशबीचको कुटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा कुराकानी भएको छ । सो अवसरमा अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध घनिष्ट रहेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध थप मजबुत र बलियो हुने विश्वास व्यक्त गरे ।
इजरायलले शुरु गरेको लर्न एण्ड अर्न कार्यक्रम नेपालका लागि निकै प्रभावकारी भएको र कार्यक्रममा गएका नेपालीले कृषि प्रविधिको राम्रो ज्ञान प्राप्त गरी स्वदेश फर्किएर राम्रो प्रगति गरेको उल्लेख गरे ।
लर्न एण्ड अर्न कार्यक्रममा इजरायल पुगेका नेपाली विद्यार्थीमाथि गत वर्ष भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले हमासले वन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको छिटो रिहाइका लागि पहल गर्न आग्रह गरे ।
हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीलाई छुटाउन आफूहरुले निरन्तर पहल गरिरहेको भन्दै राजदुत श्मुलिकले आज बिहान मात्रै विपिनका बुवालगायत परिवारका सदस्यहरुलाई भेटेको बताए ।
इजरायलको अवस्था परिवर्तन भइसकेको र अहिले शान्तिपूर्ण रहेको भन्दै उहाँले कृषि, पर्यटन, स्वास्थ्य र निर्माणका क्षेत्रमा नेपाली कामदारहरुलाई इजरायलले लिन चाहेको उनको भनाइ छ ।
प्रकाशित मिति २०८१ माघ २१ गते सोमबार ०५:३०




