बागलुङ ।
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन तर्फ लागेको बताएका छन् ।
सोमबार बागलुङको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले सरकार नागरिकको जीविकोपार्जन सहज बनाउन तर्फ लागेको बताएका हुन् । उनले दुई ठूला दल मिलेर बनेको सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको बताए ।
मुलुकमा राजनीतिक अस्थितरताका कारण विकासले गति लिन नसकेको भन्दै अहिले लामो समयदेखि रोकिएका काम सुचारु भएको उनले उल्लेख गरे । सरकारका विषयमा विभिन्न व्यक्तिले नकारात्मक टीकाटिप्पणी गरे पनि अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म चल्ने उनको दाबी छ । मन्त्री सिंहले देशभर सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको जिकिर गरे ।
उनले प्राप्त उपलब्धिको रक्षा गर्न र विकासको आकांक्षा पूरा गर्न सरकार काम गरिरहेको उल्लेख गरे । नयाँ सहर आयोजनाको कामलाई तीव्रता दिन र आवश्यक बजेट व्यवस्थापनमा आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।
रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई तत्काल अगाडि बढाउनका लागि सरकार लागि परेको उपप्रधानमन्त्री सिंहले बताएका छन् ।
प्रकाशित मिति २०८१ माघ २१ गते सोमबार ०६:२६




