२०८३ असोज २५ गते आइतबार

रवि लामिछाने जिल्ला अदालत चितवनमा, आजैदेखि बयानको तयारी

रवि लामिछाने जिल्ला अदालत चितवनमा, आजैदेखि बयानको तयारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २३ गते बुधबार ०२:००

सभापति लामिछानलाई ठगीको कसुरमा मात्रै मुद्दा चलाएको भन्दै जिल्ला न्यायाधिवक्तामाथि छानबिन सुरु

बयान सकिएपछि थुनछेक बहस शुरू हुने

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भएपछि लामिछाने आज अदालतमा उपस्थित भएका हुन् । उनीसँग आजैदेखि बयानको तयारी छ । लामिछानको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा पेशी तोकिएको छ ।

बयान सकिएपछि थुनछेक बहस शुरू हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।

हिजो लामिछानेसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको हो । योसहित सहारा सहकारी ठगीमा अभियुक्तको सङ्ख्या ३२ पुगेको छ । १२ जनाविरुद्ध संगठित अपराध र ठगी दुवै अपराधमा मुद्दा दर्ता भए पनि रविविरुद्ध भने ठगी मुद्दा मात्र दर्ता भएको थियो ।

लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो । तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको जनाइएको छ ।

अभियोग पत्रमा साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रविको एकल हस्ताक्षरबाट खर्च भएको उल्लेख छ । यो रकम खर्च गर्न रविले ८१४ वटा चेक काटेको विवरण छ ।

चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने सहकारी प्रकरणपछि निलम्बित छन् ।

त्यस्तै सभापति लामिछानलाई ठगीको कसुरमा मात्रै मुद्दा चलाएको भन्दै चितवनका प्रमुख तथा न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि महान्यायाधिवक्ता कार्यालयले छानबिन सुरु गरिएको छ ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले लुँइटेलमाथि छानबिन सुरु भएको पुष्टि गरे ।

प्रकाशित मिति २०८१ माघ २३ गते बुधबार ०२:००
हजुरको प्रतिक्रिया