काठमाडौं ।
संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्दै छ ।
आजको बैठकमा सरकारले ल्याएका ६ वटै अध्यादेश पेश गर्ने तयारी गरेको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा अध्यादेशमाथिका अस्वीकारका प्रश्तावउपर छलफल गरेर टुंग्याइने भएको छ ।
बुधबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलमा अध्यादेशमाथि ५१ वटा प्रश्ताव अस्वीकार गर्नुपर्छ भन्नेमा र कसरी समय व्यवस्थापनगरेर टुंग्याउने भन्नेबारेमा छलफल गरिएको सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
उनकाअनुसार आजको बैठकमा अध्यादेशमाथिका अस्वीकारका प्रश्तावमा छलफल हुने र अध्यादेश आजकै बैठकमा पारित गर्नेगरी तयारी गरिएको छ ।
उनले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले सम्बोधन गर्ने र सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बोल्ने कार्यतालिका निर्धारण गरिएको पनि जानकारी दिए ।
आजकै बैठकमा भ्रष्टाचार सम्बन्धी प्रतिवेदन, सुरक्षित कारोबारसँग सम्बन्धित प्रतिवेदन र आर्थिक कार्यविधिसँग सम्बन्धित विधेयक फिर्तासँग सम्बन्धित प्रतिवेदन पेश गर्ने पनि तयारी छ ।
सभामुख घिमिरेसँगको बैठकमा संसदको क्यालेण्डरबारे छलफल भएको नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए ।
उनले अध्यादेशको विपक्षमा परेको प्रश्तावमा संसदमा एकजनाले प्रश्तावका रुपमा लैजाने र प्रश्तावकले प्रश्तुत गरेको प्रश्तावउपर समर्थकहरुले बोलेर विषय टुंग्याइने उल्लेख गरे ।
अध्यादेशको प्रश्तावउपरको छलफलपछि सम्बन्धित मन्त्रीले जवाफ दिने र प्रश्तावकले फिर्ता लिनसक्ने गरी कार्यतालिका बनाइएको उनले जानकारी दिए ।
प्रश्ताव फिर्ता लिन नचाहेको खण्डमा प्रश्तावलाई निर्णयार्थ एक पटक मात्रै प्रश्तुत गर्ने उनले बताए ।
आजको प्रतिनिधि सभा बैठकमा शुन्य समय, विशेष समय, प्रमुख प्रतिपक्ष दलका नेताको सम्बोधनपछि अध्यादेशमाथिका अस्वीकारका प्रश्तावउपर छलफल हुने कार्यतालिका रहेको छ ।
प्रकाशित मिति २०८१ माघ २४ गते बिहीबार ११:१०




