सहकारीको एक अर्ब ४९ करोड रुपैँया अपचलन भएको प्रतिवेदनमा उल्लेख
म्याग्दीको बेनी नगरपालिका– ८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलनसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ ।
शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरू हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराको सिफारिसका आधारमा पाँच जना सञ्चालक, व्यवस्थापक र कागजातहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा छ हजार बचतकर्ता रहेको २०६५ मा खुलेको कुमारी सहकारीको एक अर्ब ४९ करोड रुपैँया अपचलन भएको उल्लेख छ । सहकारीको पैसाबाट ढुकुटी खेलाउने, बोर्डिङ स्कुल, घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग भएको सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।
अनुसन्धानका लागि प्रहरीले कुमारी सहकारीका पाँच जना सञ्चालक र व्यवस्थापकलाई माघ २० गते पक्राउ गरेको थियो ।
सहकारीका पूर्वसञ्चालक समितिका उपाध्यक्ष रहेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, तत्कालीन व्यवस्थापक रुद्र गुरूङ, सञ्चालक समितिका पूर्वअध्यक्ष मनप्रसाद थजाली, थमबहादुर गर्बुजा र सञ्चालक देवीकुमारी थापा प्रहरीको हिरासतमा छन् ।
अदालतले अनुुसन्धानका लागि उनीहरूलाई दोस्रो पटक माघ २८ गतेसम्म हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रकाशित मिति २०८१ माघ २६ गते शनिबार ०९:३७




