२०८३ साउन २१ गते बिहीबार

कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङमा तीन वटा मोटरेबल पुल थपिए

कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङमा तीन वटा मोटरेबल पुल थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २७ गते आइतबार ०२:११

आयोजनाका प्रमुख ध्रुवकुमार झाले तीनवटै पुलको संरचना र पहुँचमार्ग निर्माण सकेर गाडी सञ्चालन हुन थालेको जानकारी दिए ।

पाेखरा ।

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले घरपझोङ गाउँपालिका–२ मार्फाखोला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–६ छुसाङको नर्सिङखोला र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङखोलामा ३१ करोड ७८ लाखको लागतमा मोटरेबल पुल निर्माण गरेको हो ।

आयोजनाका प्रमुख ध्रुवकुमार झाले तीनवटै पुलको संरचना र पहुँचमार्ग निर्माण सकेर गाडी सञ्चालन हुन थालेको जानकारी दिए । उनकाअनुसार मार्फाखोलामा एक सय २०, छुसाङको नर्सिङखोलामा ९० र चराङखोलामा ८० मिटर लामो मोटरेबल पुल निर्माण भएका हुन् ।

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङमा रहेको चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडकअन्तर्गत २४ वटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १२ वटा निर्माण सकिएको, दुई वटा निर्माणाधीन, पाँच वटाको ठेक्का तोडेको र पाँच वटा पुल निर्माणको प्रक्रियामा छन् ।

२०७३/०७४ देखि शुरु भएको योजनाको ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।

प्रकाशित मिति २०८१ माघ २७ गते आइतबार ०२:११
हजुरको प्रतिक्रिया