पाेखरा ।
पोखरा महानगरपालिकाले करार सेवाबाट वर्खास्त गरेका स्वास्थ्यतर्फका ५९ जना कर्मचारीले गत शुक्रबारदेखि महानगर परिसरमा निरन्तर धर्ना दिँदै आएका छन् ।
सर्वाेच्च अदालतको आदेश अनुसार कार्यालयमा पुनः हाजिरी गर्न पाउनुपर्ने मागसहित उनिहरूले पाेखरा महानगर परिसरमा धर्ना दिएका हुन् । महानगरपालिकाले सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशलाई कार्यान्वयन नगरेपछि आन्दोलनकाे विकल्प नभएकाे आन्दाेलनरत कर्मचारीकाे भनाई छ ।
गत माघ १ गते पदमुक्त भएका कर्मचारीले थमौतीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेकोमा अदालतले तत्काल कर्मचारी नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले गत मङ्सिर २८ गते ‘विशेष नगरसभाले गरेको निर्णयलाई यथास्थितिमा राख्नु’ भन्ने आदेश जारी गरेको छ ।
करार सेवाबाट हटाइएका स्वास्थ्य क्षेत्रका ५९ कर्मचारीले अदालतको सोही आदेश अनुसार आफूहरुले हाजिरी भएर कामकाज गर्न पाउनुपर्ने माग गरिरहेका छन् । ‘करार स्वास्थ्यकर्मी संघर्ष समिति’को ब्यानरमा आन्दोलित उनीहरुले हाजिरीको मागसँगै आन्तरिक प्रतिष्पर्धाको मागसमेत गरेका छन् ।
महानगरले सोही शाखा र क्षेत्रमा १ सय ७० पदमा आवेदन खोलेको छ । जसमा आन्दाेलनरत कर्मचारीले आन्तरिक प्रतिष्पर्धाकाे माग गरेका छन् ।
प्रकाशित मिति २०८१ माघ २७ गते आइतबार ०७:२९




