२०८३ असोज २५ गते आइतबार

सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको छ : मन्त्री गुरुङ

सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको छ : मन्त्री गुरुङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २ गते शुक्रबार ०६:०७

यज्ञसँगै धार्मिक तथा पर्यटनको सम्मिश्रण हुँदै सराङकोट विश्वबजारमा अझ बढी लोकप्रिय बन्ने अपेक्षा गरिएको छ ।

पोखरा ।

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताएका छन् ।

बिहीबार सराङकोट क्षेत्रको अवलोकनपछि स्थानीयलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पोखरालाई नजिकैबाट नियाल्न तथा फेवातालसँगै विभिन्न हिमशृङ्खला अवलोकनका लागि सराङकोट पुग्नैपर्ने बताए । उनले पछिल्लो समय सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको अग्रसरतामा निर्माण गरिएका संरचनाले त्यस क्षेत्रको सुन्दरता थप बढाएको चर्चा गर्दै पोखराको पर्यटनमा सराङकोटको भूमिका महत्वपूर्ण रहँदै आएको उल्लेख गरे ।

उनले प्राविधिक पक्ष बुझेर सराङकोट टपस्थित नेपाल टेलिभिजनको टावर स्थानान्तरणका लागि आफूले पहल गर्ने विश्वास दिलाउँदै सराङकोटमा निर्माण गरिएका संरचना उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली ल्याउन आफू प्रयासरत रहेको जिकिर गरे ।

यस्तै पोखरा महानगर प्रमुख धनराज आचार्यले सराङकोट अब पर्यटकीयस्थल मात्रै नभई धामका रुपमा विकास हुँदै गएको स्पष्ट पारे । तीनै तहका सरकार तथा स्थानीय जनताको सहयोगमा सराङकोट टपमा विभिन्न संरचना निर्माण गरिएको बताउँदै मेयर आचार्यले त्यस क्षेत्रको विकासमा महानगर सधैँ सकारात्मक रहेको औँल्याए ।

पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले २० औं वर्षको निरन्तर प्रयासपछि सराङकोट टपमा विभिन्न संरचना निर्माण भएको स्पष्ट पार्दै टप क्षेत्रबाट नेपाल टेलिभिजनको टावर स्थानान्तरणका लागि संघ सरकारको ध्यानाकर्षण गराए । ‘टावर हुँदा त्यहाँ चट्याङ समस्या बढ्दो छ । फोटो खिच्न पनि असुविधा भइरहेको गुनासो आउने गरेको छ,’ अध्यक्ष तिमिल्सीनाले सुनाए ।

सो अवसरमा सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसी, सराङकोटमा हुन लागेको महायज्ञ प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापा, पत्राचार उपसमिति संयोजक सुशील जिसी लगायतले सराङकोटको विकासमा तीनै तहका सरकारको ध्यानाकर्षण गराए ।

२०६१ सालदेखि यहाँ गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ्ग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको जनाइएको छ ।

नवनिर्मित संरचना आगामी महाशिवरात्रि पर्व अवसरमा १४ फागुनमा उद्घाटन गर्ने कार्य तयारी छ । साथै, सोही दिनदेखि २१ फागुनसम्म यहाँ श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु हुने सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए ।

यज्ञसँगै धार्मिक तथा पर्यटनको सम्मिश्रण हुँदै सराङकोट विश्वबजारमा अझ बढी लोकप्रिय बन्ने अपेक्षा गरिएको छ ।

सराङकोटमा हालसम्म निर्माण गरिएका संचरनाको दिगो व्यवस्थापनमा अलवा बालउद्यान, योग ध्यान केन्द्रसहित दृष्य अवलोकनका लागि सिसाको आकाशे पुलसहितको थप योजना सम्पन्न गर्न यज्ञ फलदायी हुने प्रचार संयोजक कृष्ण थापाले जानकारी दिए ।

सराङकोटमा सडकमार्ग अलावा केवलकारमार्फत पनि पुग्न सकिन्छ । त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ । यसैबीच, यज्ञलक्षित स्थानीय संघसंस्था तथा पत्रकारसँग बिहीबार छलफल गरिएको छ ।

प्रकाशित मिति २०८१ फागुन २ गते शुक्रबार ०६:०७

हजुरको प्रतिक्रिया