लमजुङ ।
लमजुङको सुन्दरबजार नगरपालिका र त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पस सुन्दरबजार लमजुङबीच सहकार्यको लागी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
विभिन्न १४ बुँदा भएको समझदारी पत्रमा बिहीबार सुन्दरबजार नगरपालिकाको कार्यालयमा हस्ताक्षर गरी एक एक प्रति आदान प्रदान गरिएको हो ।
सुन्दरबजार नगरपालिका भित्रका कृषक तथा समुदायका लागि कृषि शिक्षा, कृषि अनुसन्धान, कृषि प्रसार र समुदाय बीचको कार्यगत सम्बन्ध अभिवृद्धिगरी कृषि, पशु र वातावरणको क्षेत्रको प्रवर्धनका लागि सहकार्य गरिएको सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोईरालाले जानकारी दिए ।
नगर प्रमुख कोईरालाकाअनुसार नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नै समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । अब भोलीका दिन देखि नै यस कार्यक्रम लागुहुनेछ । कार्यक्रमले नगर क्षेत्र भित्रका कृषक र समुदायका लागी विशेष सहयोग पुग्ने नगर प्रमुख कोईरालाको भनाई छ ।
कृषि अनुसन्धान, कृषि प्रसार र कृषि शिक्षा लगायतका क्षेत्रहरुमा नगरपालिका, क्याम्पस र कृषकहरु बीचको सहकार्यलाई प्रोत्साहन गर्न प्राध्यापक तथा विद्यार्थीहरु परिचालन गर्ने , नगरपालिका, कृषि विकास शाखा, वडा कार्यालय, कृषि समुह, सहकारी तहहरुमा कृषि योजना तर्जुमा सम्बन्धी क्षमता अभिविद्धि गर्ने, नगरपालिका, वडा, सहकारी तहका कृषि प्राविधिक तथा अगुवा कृषकहरुलाई कृषि र पशुपालन सम्बन्धी तालिम प्रदान गर्ने समझदारी पत्रमा उल्लेख गरिएको लमजुङ क्याम्पसका प्रमुख डा. रामकुमार श्रेष्ठले जानकरी दिए ।

त्यस्तै कृषि क्षेत्र लगायतका विविध उन्नत प्रविधिहरुको नमुना प्रर्दशनी गर्ने, एकिकृत कृषि, पशु बाँझोपन उपचार शिविर संचालन तथा प्राविधिक परामर्श सेवा प्रवाह गर्ने, प्रयोगशालामा माटोको परीक्षण, बिश्लेषण तथा मलखादको सिफारिस सम्बन्धी परामर्श सेवा प्रवाह गर्ने,बालीका रोग, किरा, अन्य व्यवस्थापकीय समस्याहरुको प्रयोगशाला पहिचान, विश्लेषण र व्यवस्थापन सम्बन्धी परामर्श सेवा प्रदान गर्ने, पशुमा रोगका बारेमा प्रयोगशालामा पहिचान गर्ने र अन्य व्यवस्थापकीय समस्याहरुको बारेमा परामर्श सेवा प्रदान गर्ने, स्थानीय स्तरका जैबिक विविधता, औषधीय वनस्पति, संरक्षण तथा प्रोत्साहन कार्यक्रम संचालन गर्ने समेत समझदारी पत्रमा उल्लेख गरिएको क्याम्पस प्रमुख श्रेष्ठले बताए ।
कृषि प्रसारका लागि विविध प्रकाशन, अभिमूखिकरण, तालिम, कार्यशाला, गोष्ठी, सेमिनार, अभियान आदि संचालन गर्ने, उपरोक्त कार्यहरुको लागि आवश्यक वजेट व्यवस्था सुन्दरबजार नगरपालिकाले गर्ने र प्राविधिक सहयोग लमजुङ क्याम्पसले उपलब्ध गराउने, विद्यालयमा कृषि उत्पादन र असल खानेबानी विकास सम्बन्धी कार्यक्रम संचालन गर्ने, रैथाने बालीबाट बन्ने परिकारबारे प्रचार प्रसार गर्ने समेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।
समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा नगरपालिकाका उप प्रमुख भवानी के.सी. प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती, लमजुङ क्याम्पसका प्रशाशन शाखा प्रमुख, पालिकाक बिभिन्न शाखा प्रमुख लगायत कर्माचारीहरुको उपस्थिती रहेको थियो ।





