पाेखरा ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय घलेगाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम भएको छ ।
शनिबार विभिन्न चार सेसनमा विभिन्न विषयवस्तुमाथि गहन छलफल भयो । पहिलो सेसन थियो, सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर । जसमा गफिए निर्देशक नवीन सुब्बा, विश्लेषक विश्वभक्त दुलाल ९आहुति०, कलाकार एवं निर्माता आशा मगराती र लेखक विकास सुवेदी । प्रस्तुतकर्ता थिए–पत्रकार दीपक परियार । उक्त सेसनमा सिनेमामा अझै पनि आदिवासी र सीमान्तकृत समुदायको कथा अपेक्षाकृत आउन नसकेको वक्ताले बताए ।
उनीहरुको स्वर दबाइने गरिएको गुनासो थियो । यसको मुख्य जड भनेको जातीयमात्र नभई वर्ग व्यवस्थाले पारेको प्रभाव भएको उनीहरुले बताए ।निर्देशक नवीन सुब्बाले सिनेमा बनाउनेले पनि सिनेमाको संरचनासँग सम्झौता गर्ने गरेको टिप्पणी गरे । उनले विषयवस्तुको तथ्यमा सचेत हुनुपर्ने सुझाव दिए ।
चलचित्रकर्मीले त समाजलाई अग्रगति दिनुपर्ने बताए । उनले सौन्दर्य मारेर यही घलेगाउँमा ठूलठूला होटल बनाउन थाल्यौं भने यसको अस्तित्व नरहने बताए । उनले नेपाली फिल्म निर्माणमा जनरा नभएको होइन, तर त्यसलाई हामीहरुले सम्बोधन गर्न नसकेको बताए ।अर्का वक्ता आहूतिले वर्गीय उत्पीडनको पक्ष नेपाली फिल्ममा अझै पनि कमजोर रुपमा प्रस्तुत भएको बताए ।
कलाकार आशा मगरातीले आफू दलित समुदाय त्यो पनि महिलाबाट प्रतिनिधित्व गर्दा सुरुका दिनमा आफ्नो जातका कारण कसैले पछि पार्छ कि भन्ने डर हुने गरेको स्मरण गरिन् । तर, अहिले यो ठाउँमा आइपुगेर आवाज दिन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन् ।
लेखक विकास सुवेदीले आफूले सक्रिय पत्रकारितापछि २ वर्षसम्म झोला बोकेर ६०र६२ जिल्ला घुमेको स्मरण गरे । जसमा आफू अलि बढी नजिक मधेससँग भएको बताए । अर्को सेसन थियो, सिनेमामा संगीत ः कति मौलिक, कति आधुनिक रु ‘सिनेमा संगीत, कति मौलिक कति आधुनिक’ सेसनमा गफिदैँ थिए, तीन पुस्ताका कलाकार ।
संगीतकार शम्भुजित बास्कोटा, बसन्त सापकोटा र प्रकाश सपुत । चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा भइराखेको सिनेमा संवादअन्तर्गत उक्त सेसनलाई रिमा विश्वकर्मा सहजीकरण गरेकी थिइन् । तीसको दशकदेखि गीतसंगीतमा रहेका वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडेको अनुभव सुनाए । पहिलाका कुरा अहिलेका जेनेरेसनले पनि क्यारी गर्नुेपर्नेमा बास्कोटाले जोड दिए ।संगीतकार वसन्त सापकोटाले संगीतको रोजाई जेनेरेशनअनुसार फरक पर्ने बताए । प्रकाश सपुतले कथा मौलिक भए संगीत मौलिक हुन आउने बताए । अहिलेको समय बजारमा चलेका गीतहरु मात्रै याद हुने खालको भएको कलाकार सपुत बताउँछन् ।
सिनेमा संवादको तेस्रो सेसन थियो, रिलदेखि एआईसम्म । उक्त सेसनमा थिइन्, सदाबहार अभिनेत्री करिष्मा मानन्धर । उनले टेक्नोलोजीमा धेरै फरक आएको स्मरण गर्दै विगत र वर्तमानको परिस्थितिबारे छलफल गरिन् । उनको साथमा थिए, अहिलेका पुस्तका कलाकार महेश त्रिपाठी तथा डिजाइनर एवं एनिमेटर अनिल न्यौपाने । सुव्रत न्यौपानेले गरेको सहजीकरणमा अभिनेत्री मानन्धरले एआई भनेको आत्मा नभएको फूल हो भनिन् । उनले गमलाको फूल र प्लाष्टिकको फूलको उदाहरण दिँदै त्यसरी विश्लेषण गरेकी हुन् ।
एआईका कारण मानिसहरुको स्मरण क्षमता कमजोर हुँदै गएको र मेहनत कम हुने गरेको बताइन् ।कलाकार महेश त्रिपाठी र अर्का अनिल न्यौपानेले एआईले मानिसको क्रियाकलापमा धेरै सहजता ल्याएको भन्दै समयअनुसार आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए ।सिनेमा संवादको अन्तिम सेसनमा थिए, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी र चलचत्रि पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामी ।
उक्त सेसनमा सहजकर्ता पत्रकार अमृत सुवेदीले नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा नीति वा नियतबारे प्रश्न गरे ।बोर्ड अध्यक्ष डिसीले बोर्डका गतिविधिबारे प्रकाश पार्दै चलचित्र ऐन, फिल्म स्टूडियो, बक्स अफिस आफ्नो तत्कालको मिसन भएको बताए । उनले २०२६ सालको चलचित्र ऐन बिस्थापित गर्दै अब छिट्टै नै चलचित्र ऐन आउने आश्वासन दिए ।चलचित्र पत्रकार संघ अध्यक्ष समीर बलामीले संघले समग्र नेपाली चलचित्र र चलचित्र पत्रकारको हितमा काम गर्दै आएको बताए ।
प्रकाशित मिति २०८१ फागुन १० गते शनिबार ०७:५५




