स्याङ्जाका आठ पालिका र नवलपुरका सबै पालिकाले दिए सार्वजनिक बिदा
देशैभरका मगर समुदायले बिहीबार ४३औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदैछन् ।
नेपाल मगर संघको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ ।
पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीच २०३९ फागुन १४, १५ र १६ गते तनहुँमा ‘नेपाल लाङ्घाली परिवार संघ’ को प्रथम महाधिवेशन सम्पन्न भएको थियो । यही दिनको स्मरणमा फागुन १५ लाई संघको स्थापना दिवसका रूपमा मनाइन्छ ।
२०४८ सालको चौथो महाधिवेशनले ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ मा रूपान्तरण गरेको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार ४९८ छ । यो कुल जनसङ्ख्याको ६.९ प्रतिशत हो ।
दिवसका अवसरमा स्याङ्जामा ११ वटा पालिका रहेकोमा आठ वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । नगरपालिकामा गल्याङ, वालिङ, भीरकोट, पुतली बजार, चापाकोट र गाउँपालिका मध्ये काली गण्डकी, बिरुवा र हरिनास गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
त्यस्तै, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले सार्वजनिक बिदा दिएका छन् ।
यहाँका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्। पालिकाले छुट्टाछुट्टै सूचना जारी गरी सङ्घको स्थापना दिवसका अवसरमा बिहीबार मातहतका सबै कार्यालय बन्द हुने जनाएका हुन् ।
मगर जातीको बाहुल्यता रहेको र मगर संस्कृति संरक्षणका लागि सार्वजनिक बिदा दिइएको जनाइएको छ।
प्रकाशित मिति २०८१ फागुन १५ गते बिहीबार ०९:०७




