काठमाडौं ।
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलवायु परिवर्तनबाट भविष्यमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।
आईतवार काठमाडौंमा विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
हिमनदीहरु क्रमशः साना हुँदै गइरहेको र जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको बताए । उनले अहिले नै जलवायु परिवर्तनबाट पर्ने असर न्युनिकरणका लागि पूर्व तयारी नगर्ने हो भने भविष्यमा नेपालको जलश्रोतमा गम्भीर चुनौति आउनसक्ने उल्लेख गरे । जलवायु परिवर्तनका कारण नेपालका हिमनदीहरु पग्लिने क्रम बढिरहेको र हिमताल फुट्ने क्रम पनि जारी रहेको बताए । उनले सरकारले पूर्वसूचना प्रणालीलाई अझ बलियो बनाउने काम गरिरहेको बताए । मन्त्री खड्काले पछिल्ला वर्षहरुमा पूर्वसूचना प्रणालीका कारण धेरै जनधनको क्षति हुनबाट रोकेको जिकिर गरे । जलवायु परिवर्तनका जोखिमहरु ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्ने प्रतिवद्धता समेत जनाए ।
मन्त्री खड्काले भने, ‘नेपालमा धेरैजसो जलविद्युत परियोजनाहरु, सिंचाई आयोजना र दैनिक उपभोग्यका लागि उपलब्ध पानीको श्रोत मुख्य आधार हिमनदीहरु हुन् । यस अर्थमा जलवायु परिवर्तनको प्रभाव न्युनिकरणका साथै हिमनदीहरुको संरक्षण समयमै पूर्वसूचना प्रणाली र सुदृढिकरण र जोखिम न्युनिकरणका उपायहरु अघि बढाउनु हाम्रो प्राथमिकतामा पर्नेछ । नेपालका हिमनदीहरु जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेका छन् । वैज्ञानिक अध्ययनहरुले स्पष्ट देखाएको छ की नेपालको हिमताल फुट्ने र हिमनदीहरु पग्लिने दर बढ्दो छ । यसले निम्त्याउने सम्भावित जोखिमहरु उच्च छन् । हाम्रा हिमनदीहरु क्रमशः साना हुँदै गइरहेका छन् । यसको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको छ । हामीले भविष्यमा आउनसक्ने जोखिमलाई मध्यनजर गरी यदी अहिले नै उचित तयारी शुरु गरेनौँ भने भविष्यमा नेपालको जलश्रोतमा गम्भीर चुनौति आउनसक्छ ।’
मन्त्री खड्काले सरकार हिमनदीहरुको विस्तृत अध्ययन, जलचक्रको वैज्ञानिक अनुगमन गर्दै जाने प्रतिवद्धता जनाए । हिमनदीहरुको संरक्षण र जलवायु परिवर्तनहरुको असर न्युनिकरण सहकार्य गर्न सरकार अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गर्दै अघि बढिरहेको पनि बताए ।
प्रकाशित मिति २०८१ चैत ९ गते आइतबार ०१:०२




