२०८३ साउन २१ गते बिहीबार

हेटौँडा सिमेन्ट उद्योगले चैतको तेस्रो हप्तादेखि पुनः उत्पादन थाल्ने

हेटौँडा सिमेन्ट उद्योगले चैतको तेस्रो हप्तादेखि पुनः उत्पादन थाल्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ११ गते मंगलबार ०५:१५

२०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन शुरू गरेको थियो ।

काठमाडौं ।

लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो हप्तादेखि पुनः उत्पादन थाल्ने भएको छ ।

उद्योग सञ्चालनका लागि मेशिन मर्मतको कार्य सकिएको, तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएपछि उत्पादन शुरू गर्ने तयारीमा पुगेको हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर नवीनकुमार कर्णले बताए । स्थापनाकालमा जडान गरिएको मेशिन पुरानो भएकाले नयाँ जडान गर्नुपर्ने अवस्था रहेको तर आर्थिक समस्याका कारण तत्काल सञ्चालनका लागि मर्मत नै गराएको उनको भनाइ छ ।

निमित्त महाप्रबन्धक कर्णका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक बिजुली नेपाल विद्युत् प्राधिकरणले नियमित दिने प्रतिबद्धता समेत जनाएको छ । उद्योग बन्द हुँदा कर्मचारीले विगत तीन महिनादेखिको तलब भत्ता पाउन सकेका छैनन् ।

२०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन शुरू गरेको थियो । गएको भदौ तेस्रो हप्तादेखि पुनः सिमेन्ट उत्पादन शुरू गरे पनि मेशिन मर्मत गर्नुपर्ने भएपछि असोज १५ गतेयता उद्योग बन्द थियो ।

दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको हेटौँडा सिमेन्ट उद्योग आर्थिक तथा अन्य समस्याका कारण चपेटामा परेको छ ।

प्रकाशित मिति २०८१ चैत ११ गते मंगलबार ०५:१५
हजुरको प्रतिक्रिया