२०८३ कात्तिक ११ गते मंगलबार

अबिरल बर्षापछि बाढी र पहिराेकाे वितन्डा

अबिरल बर्षापछि बाढी र पहिराेकाे वितन्डा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार १ गते मंगलबार ०४:५४

पाेखरा । अविरल बर्षापछि आएको बाढीले देशभरका विभिन्न स्थानमा वितन्डा मच्चाएकाे छ । देशका अन्य भागमा भन्दा गण्डकी र लुम्विनी प्रदेशमा धेरै बर्षा भइरहेकाे र   हिजाेदेखि परिरहेकाे पानी नराेकिँदा ती प्रदेशका विभिन्न स्थानमा बाढी...

मनाङकाे चामे र तालगाउँ उच्च जाेखिममा

पाेखरा । अविरल बर्षापछि आएको बाढीले देशभरका विभिन्न स्थानमा वितन्डा मच्चाएकाे छ । देशका अन्य भागमा भन्दा गण्डकी र लुम्विनी प्रदेशमा धेरै बर्षा भइरहेकाे र   हिजाेदेखि परिरहेकाे पानी नराेकिँदा ती प्रदेशका विभिन्न स्थानमा बाढी तथा पहिराेकाे जाेखिम देखिएकाे छ ।

भारतको झार खण्डमा बर्षा गराउने न्यून चापीय प्रणालीको विकास भएको त्यो नेपालको पश्चिमी भागमा सर्दै आएकोले नेपालको पश्चिमी भागमा भारी बर्षा भएकाे माैसमविद्ले जानकारी दिएका छन् । माैसमविद्ले गण्डकी प्रदेश, कर्णाली प्रदेशका साथै पश्चिम तराई क्षेत्रमा भारी बर्षा हुने बताएका छन् ।

अविरल वर्षा सङै आएको कास्कीको मादीमा आएको वाढीले मादी गाउँपालिका २ ताङ्तिङ बेसीमा निर्माण भैरहेको ४४ मेघावाट सुपर मादी हाइड्रो पावरमा ठुलो क्षति पुर्याएकाे छ ।

बाढीले २ वटा जेसिबी, एउटा टिपर, हाइड्रोमा प्रयोग भएका पाइपहरु, जेनेरेटरलगाएतका अन्य मेसिनरी सामाग्रीहरु र क्रसर बगाएको छ। वडा न २ का वडा अध्यक्ष एकजङ गुरुङका अनुसार अहिलेसम्म कुनै मानवीय क्षती भने भएको छैन ।

लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको सतहले चेतावनीको तह पार भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीमा पानीको सतह ७.३ भन्दा माथि नाघेर ७.८ मिटर पुगेको छ । ८ मिटरभन्दा माथि पुगेपछि खतराको तह पुगेको मानिन्छ ।

मर्स्याङ्दी नदिकाे बाढीले तहसनहस पारेकाे मनाङ्ग सदरमुकाम चामे 

 

चितवनमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ । पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नारायणीमा पानीको सतह अझै बढ्न सक्ने हुँदा सचेत रहन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ । नारायणीमा पानीको सतह बढ्दा त्यसले पश्चिम चितवन क्षेत्रमा कटान र डुबान हुने खतरा बढी हुन्छ ।

यता, दुई दिनेदेखिको अविरल वर्षाका कारण गुल्मीकाे इस्मा गाउँपालिकामा दुई घर भत्किएको छ ।

गाउँपालिका –५  मैदानका राजेश परियारको निर्माणाधीन घर र वडा नम्वर १ उजुङ्ग स्थित छत्रबहादुर पछाईको बस्दै आएको घर भत्किएको हो । मैदानस्थित परियारको घर भत्किँदा उनकी २९ वर्षीया श्रीमती जानकी परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

यस्तै, वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथि र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सदरमुकाम बागलुङ बजार हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिँदा घरमाथि पहिरो आएको हो । जिरेदीका चित्रबहादुर कार्कीको घरमाथिबाट पहिरो आएको वडाअध्यक्ष प्रेम जिसीले बताए । सोही ठाउँकै बलबहादुर जिसी र कृष्ण जिसीलगायतका घर पहिरोको उच्च जोखिममा छन् । सबै परिवारका सदस्यलाई अन्यन्त्रै सार्न थालिएको छ । वर्षा र पहिरो नरोकिएकाले विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सार्ने लागिएको हो ।

पहिरोका कारण बागलुङ सदरमुकाम र स्थानीय तहबीचको सडक सञ्जाल टुटेको छ । कालिगण्डकी करिडोरको मालढङ्गामा पहिरोले अवरुद्ध गरेको छ । बागलुङ–कुश्मीशेरा सडक, बागलुङ–बरेङ सडक, मध्यपहाडी लोकमार्ग र पालिका मुकामबाट वडा कार्यालय तथा गाउँ वस्ती जोड्ने सबै सडकका ठाउँ ठाउँमा पहिरो खसेको छ ।

बाढीका कारण मनाङ सदरमुकाम चामेका ६ घर बगाएको छ। चामे बजार क्षेत्रका घट्टेखोला र च्यट्टु खोलामा आएको बाढीले ६ घर पूर्ण रूपमा क्षति गरेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । मनाङको प्रवेशद्वारमै रहेको ताल गाउँका आधा घर डुबानमा परेका छन्। मर्स्याङ्दी नदी किनारमा रहेको उक्त गाउँमा रहेका ६० मध्ये ३० घर डुबानमा परको सिडिओ लामिछानेले बताए। मर्स्याङ्दी नदी उर्लिएकाले बाँकी घरहरूमा पनि पानी पसेको छ भने थप घरमा पनि बाढी पस्न सक्ने उनको भनाइ छ।

मर्स्याङ्दीमा आएको बाढीका कारण जाेखिममा परेकाे ताल गाउँ

 

बाढी र पहिरोका कारण हिमालपारि मनाङ पुर्‍याइएको राष्ट्रिय प्रसारण लाइनका पोलहरु पनि बगाएको छ।

अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ ।

पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका-६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो ।

कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरुपमा डुबानमा परेको स्थानीयवासी तिलक पराजुलीले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान ४ बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित बनेका छन् । ती १० घरमा रहेका सामान र मानिसलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।

कालीगण्डकीमा आएको बाढीका कारण जाेखिममा रहेकाे पर्वतकाे सेतिवेणी बजार

यस्तै, रुपन्देहीको देवदहमा चरंगे खोलामा आएको बाढीले सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

बुटवल धागो कारखाना र तिलोत्तमाको गणेशनगर फायरलाइन चोकको बीचमा पर्ने चरंगे खोलामा बनाइएको डाइभर्सन अविरल वर्षापछि आएको बाढीले भासिँदा राजमार्ग अवरुद्ध भएको हो ।

सडक भासिएपछि गन्तव्यमा सवारी साधन सडकको दुबैतर्फ रोकिएका छन् । मध्यान्ह साढे १२ बजेदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार दिनभर खुल्ने सम्भावना नरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।

प्रकाशित मिति २०७८ असार १ गते मंगलबार ०४:५४
हजुरको प्रतिक्रिया