काठमाडौं ।
नेपाली काँग्रेसकी सांसद सीताकुमारी रानाले कानूनको सफल कार्यान्वयन गर्न नसक्दा सडक बालबालिकाहरु बालिग भइसक्दा समेत जन्मदर्ता पाउन नसकेको बताएकी छन् ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कानून कार्यान्वयनको अभावका कारण सडक बालबालिकाहर अनागरिक भएर बस्नुपरेको बताइन् ।
राजनीतिक दल र कर्मचारीहरुले समेत दलगत रुपमा हेर्दा नागरिकले दुःख पाउनुपरेको उनको भनाइ छ ।
उनले पञ्जीकरण शाखाहरुले दिने सेवा सुविधामा समेत राजनीति प्रवेश गरेर अल्झाइरहेको बताइन् ।
जन्मदर्तासम्बन्धी स्पष्ट कानून हुँदाहुँदै पनि स्थानीय तहका जनप्रतिनिधिहरुमा कानूनी अज्ञानताको कारणले समस्या पाएको उल्लेख गरिन् ।
सडक बालबालिकालाई समयमै जन्मदर्ता प्रदान गरी उनीहरुको अधिकार र हक सुनिश्चित गर्नुपर्नेमा उनको जोड छ ।
उनले भनिन्, ‘सरकारले कानून कार्यान्वयन गर्न नसक्दा सडक बालबालिकाहरुले दुःख पाइहेको अवस्था छ । हाम्रा नीतिहरु प्रष्ट छन् । ति प्रष्ट नीतिहरुलाई हामीले तल्लो लेभलसम्म कार्यान्वयन गर्न सकेका छैनौं । हामी कानून र नीतिहरुको कार्यन्वयनको क्रममा आम नागरिकका लागि जनचेतनाका कार्यक्रमहरु चलाएका छौं कि छैनौं ? राजनीतिक पार्टीका प्रतिनिधिहरुले समेत सेवाग्राहीहरुलाई पार्टीगत हिसावले हेर्ने कारणले गर्दा सडक बालबालिकाकाहरुले दुःख पाइरहेको मैले महसुस गरेको छु । नेपाल सरकारले दिने थुपै सेवा सुविधाहरु पञ्जीकरण शाखाबाट दिनुपर्ने कुराहरु छन् । ति सेवाहरुमा राजनीति प्रवेश गरेर अल्झइरहेको अवस्था छ । हाम्रा वडा अध्यक्ष र पालिका प्रमुखहरुको अज्ञानताका कारणले पनि थुप्रै कानूनहरु कार्यान्वयन भइरहेको छैन ।’
संविधानमा ‘नेपालभित्र फेला परेको र पितृत्त्व र मातृत्त्व ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु र आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्ने’ व्यवस्था छ ।
प्रकाशित मिति २०८१ चैत १८ गते मंगलबार १२:५१




