पोखरा । देशकाे एकमात्र अन्तराष्ट्रिय विमानस्थलकाे विकल्पका रूपमा सरकारले निर्माण गरिरहेकाे लुम्बिनी अन्तराष्ट्रिय विमानस्थल र पाेखरा अन्तराष्ट्रिय विमानस्थलकाे काम अन्तिम चरणमा पुगेकाे छ ।
दुवै विमानस्थलहरूकाे निरिक्षण पछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दुवैकाे कार्यप्रगतिप्रति सन्तुष्टी व्यक्त गरेका छन् । मन्त्री भट्टराईका अनुसार लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलकाे काम ९२ प्रतिशत तथा पाेखरा अन्तराष्ट्रिय विमानस्थलकाे काम ६४ प्रतिशत सकिएकाे छ ।
लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलमा भाैतिक निर्माणका सबै कामहरू सकिएपछि हाल कन्भेर बेल्ट, धावनमार्ग एवं ट्याक्सी वेको विद्युतीय सामग्री बत्ती जडानकाे काम बाँकी छ । त्यसै गरी विमानस्थलको टर्मिनल भवनभित्र ब्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको काम बाँकी छ । बाँकी रहेका सबै कामहरू सन् २०२० भित्रै सकिने बताइएकाे छ ।
पाेखरा अन्तराष्ट्रिय विमानस्थलमा रनवे, एप्रोन, पाइपलाइन, टयाक्सी वे, ट्रान्सफर्मर, विद्युत पाइपलाइनका काम सकिएका छन् भने एक्सेस रोड र टर्मिनल बिल्डिङ अन्तिम चरणमा पुगेका छन् । सन् २०२१ जुनभित्र सम्पन्न गर्ने लक्ष्य लिइएकाे साे विमानस्थल लक्ष्यभन्दा ६ महिना अगावै सकिने बताइए पनि काेराेनापछिकाे परिस्थितिका कारण काम सकिन दिइएकाे समयसीमा नै लाग्ने बताइएकाे छ ।
यस प्रकार सन् २०२१ मा नेपालले तीनवटा अन्तराष्ट्रिय विमानस्थलहरू सञ्चालन गर्ने देखिएकाे छ । यसबाट नेपाली पर्यटन क्षेत्रमा सुखद संकेत मिल्ने अपेक्षा गरिएकाे छ ।
प्रकाशित मिति २०७७ भदौ २९ गते सोमबार ०२:०८




