श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन संशोधनका लागि गठित कार्यदलले काम शुरु गरेको बताएका छन् ।
बिहीवार वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले संसदको आउँदो अधिवेशनबाट पास गर्नेगरी ऐन संशोधनको काम थालनी भएको बताएका हुन् ।
उनले वैदेशिक रोजगारको क्षेत्रमा धेरै समस्याहरु रहेको कारण समयसापेक्ष सुधार गर्नको लागि ऐन संशोधन गर्न थालिएको बताए ।
आजबाट नै वैदेशिक रोजगार ऐन संशोधनको लागि कार्यदलको छलफल शुरु गरेको उल्लेख गरे ।
उनले भने, ‘आजैदेखि हामीले वैदेशिक रोजगार ऐन संशोधनको लागि कार्यदलको छलफल शुरु गरेका छौं । वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष पनि त्यस कार्यदलको सदस्य भएको हुनाले यो काममा यस समितिको सुझाव पनि आउने नै छ । वैदेशिक रोजगारमा धेरै समस्याहरु देखिएको हुनाले ऐनको समयसापेक्ष सुधार आवश्यक छ । संसदको आउँदो अधिवेशनमा संशोधनको लागि ऐन पेश गर्नेगरी तयारी गरिरहेका छौं ।’
वैदेशिक रोजगार व्यवसायीहरुले पनि इमान्दार भएर व्यवसाय अगाडि बढाउन मन्त्री भण्डारीको आग्रह छ ।
वैदेशिक रोजगार व्यवसायी संघ सरकारको अंग भएको उल्लेख गर्दै उहाँले सरकारले व्यवसाय गर्ने नभई सहजिकरण गर्नुपर्ने बताए ।
उनले वैदेशिक रोजगारमा जाने नागरिकले व्यवसायीका कारण समेत दुःख पाइरहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुन जरुरी रहेको जिकिर गरे ।
उनले भने, ‘तपाईहरु संस्थागत हिसावले पार्ट अफ गभर्मेण्ट हो । श्रम मन्त्रालय व्यवसायी र श्रमिकहरु संस्थागत संगठनको शक्ति हो । त्यो नाताले तपाईंहरुले पनि इमानदारिपूर्वक आ—आफ्नो व्यवसायलाई अगाडि बढाउन सक्नुभयो भने सजिलो हुन्छ । सरकारले व्यवसाय गर्ने होइन सरकारले व्यवसायलाई सहजिकरण गर्ने हो । राजश्व आएर सरकार सञ्चालन हुन पाओस् र जनताले सुविधा पनि पाउन् । यो क्षेत्रमा उठेका तीन वटा कुरा मैले बारम्बार भन्ने गरेको छु ।’
नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना धितो ऋण उपलब्ध गराउने कुरामा समेत आवश्यक कामहरु भइरहेको मन्त्री भण्डारीको दाबी छ । उहाँले संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
प्रकाशित मिति २०८२ वैशाख ४ गते बिहीबार ०३:३७




