गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई सरकारले खुकुलो बनाएको छ । यद्यपि कोरोना संक्रमण दर भने उस्तै छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल संक्रमण दर १९.१ प्रतिशत छ । कोरोना संक्रमणको दर अझै करिब २० प्रतिशतको हाराहारीमा रहेकाले जोखिम उच्च रहेको जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् ।संक्रमणको दोस्रो लहर उच्च बिन्दुमा पुग्दा दैनिक करिब ९ हजारको हाराहारीमा संक्रमित थिए । पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाएपछि दैनिक संक्रमितको संख्या २२/२३ सयको हाराहारीमा देखिएको छ ।
विगत एक महिनादेखि कोरोना संक्रमण दर २० देखि ३० प्रतिशतको आसपास कायम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले पुष्टि गरेको छ । गत आइतबार देशभर संक्रमितको संख्या १ हजार ९२० मा झरेको थियो । निषेधाज्ञा खुकुलो हुँदै गएपछि सोमबार संक्रमितको संख्या बढेर २ हजार ४४४ पुग्यो । मंगलबार संक्रमितको संख्या बढेर २ हजार ६३६ पुग्यो भने बुधबार २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको आँकडाले देखाउँछ ।
यस्तै, बिहीबार २ हजार ७६०, शुक्रबार २ हजार २९९ र शनिबार २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भयो । जनस्वास्थ्यविज्ञहरु संक्रमणको यो दरलाई स्थिर नै मान्छन् तर ढुक्क हुने अवस्था नरहेको उनीहरुको भनाइ छ ।
प्रकाशित मिति २०७८ असार २१ गते सोमबार ०१:११



