गोरखा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वीर गोर्खाली गजे घलेको योगदानले बारपाकलाई विश्वभर चिनाउने काम गरेको बताएका छन् ।
शुक्रबार मुख्यमन्त्री पाण्डेले गोरखाको ऐतिहासिक गाउँ बारपाकमा अवस्थित भिसी गजे घले संग्रहालयको उद्घाटन गर्दै यस्तो बताएका हुन् । मुख्यमन्त्री पाण्डेले ‘गजे घले’ नामक पुस्तकको पनि विमोचन गरेका छन् । उनले सैनीक जीवनमा सिकिएका अनुशासन, समर्पण र जिम्मेवारीलाई समाज निर्माणमा उपयोग गर्न भूतपूर्व सैनीकहरुलाई आग्रह गरे।
मुख्यमन्त्रीले बारपाकमा निर्माणाधीन भूपू कल्याणकारी सेवा समाजको भवनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, बारपाकको विकास र पूर्वाधार निर्माणमा प्रदेश सरकारले प्राथमिकता दिँदै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताए ।
वीरताको प्रतीक मानिने गजे घलेको सम्मानमा निर्माण गरिएको संग्रहालयले नेपाली सैनीक इतिहासमा नयाँ अध्याय थपेको छ । दोस्रो विश्वयुद्धमा असाधारण वीरता प्रदर्शन गरी ब्रिटेनको सर्वोच्च सैनिक सम्मान ’भिक्टोरिया क्रस’ प्राप्त गर्ने गजे घले १३ जना नेपाली ’भिक्टोरिया क्रस’ विजेतामध्ये एक हुन् । ती मध्ये ३ जना गोरखाबाट थिए ।
उनको स्मृतिमा उनका परिवारद्वारा निर्माण गरिएको संग्रहालयमा गजे घलेका व्यक्तिगत सामग्रीहरु, जीवनी तथा अनुसन्धानका लागि आवश्यक दस्तावेजहरु प्रदशन गरिएको छ ।
उद्घाटन कार्यक्रममा स्थानीय नेताहरु, भूतपूर्व सैनीक, गजे घलेका परिवारजन तथा स्थानीय नागरिकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
संग्रहालयले देशभक्तिका पाठ सिकाउने मात्र नभई बारपाकलाई ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
प्रकाशित मिति २०८२ वैशाख २६ गते शुक्रबार ०३:२९




