काठमाडौं ।
नेकपा एमाले सांसद दयालबहादुर शाहीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने गरेको टिप्पणी गरेका छन्।
पूर्वाधार विकास समितिको बुधवारको बैठकमा बोल्दै उनले कर्मचारीलाई आफ्नो रोल मोडल जस्तो बनाएर रुने असर माओवादीमा रहेको टिप्पणी गरेका हुन्।
उनले अमेरिकाले त्यत्तिका कर्मचारी र कार्यक्रमहरू हटाउँदा कहीँ पनि विरोध नहुने तर नेपालमा भने रोई कराइ गर्ने परिस्थिति निर्माण भएको भन्दै दुःख व्यक्त गरे।
उनले एउटा कर्मचारी हटाउँदा रुने व्यक्तिहरूले नै कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानुपर्ने आवाज उठाइरहेको बताए। उनले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङको व्यवस्थापकीय क्षमता राम्रो रहेको पनि बताए।
उनले भने, ‘केही कुरा के छ भने हल्लाको पछि हामी लागेका छौँ । अमेरिकाले त्यत्तिका कर्मचारी हटायो, त्यत्रा प्रोग्राम खारेज ग¥यो, त्यहाँ रोइ कराइ छैन । एक कर्मचारी हटाउँदा उनै साथी के भन्छन् भने राष्ट्रपति सिस्टममा जाऔँ । यो सिस्टम खराब भयो भन्छन् । राष्ट्रपतीय प्रणाली आएपछि त डोनाल्ड ट्रम्प भन्दा बलियो राष्ट्रपति हुन्छ हाम्रो । उनै साथीहरु एउटा कर्मचारी हटाउँदा रोइ कराइ छ । कुलमान घिसिङका व्यवस्थापकीय क्षमता राम्रो हो । उहाँले आयव्यय देखाउँदा कुनै तिर्नुपर्ने दायित्व छुटाएर नाफा देखाउनुभएको थियो । अहिलेकोले तिर्नुपर्ने दायित्व देखाएर घाटामा छौँ भन्नुभएको छ । सबैले पढेका छौँ त । हिजो माक्स, महात्मा गान्धी, लेनिन भन्थ्यौँ । अहिले हामी राजनीतिक मान्छेहरु घटेर कालिदासको सानो कमा अड्किएर बसेका छौँ । कर्मचारीलाई ठूलो बनाएर बसेका छाँै । कुलमान कुलमान गरेर तीन दिनसम्म रुने बानीको असर पनि कतै कतै छ ।’
नेकपा एमालेकै सांसद प्रेमबहादुर महर्जनले कुलमान घिसिङ बिदाई हुँदै गर्दा र हितेन्द्र शाक्य आइसकेपछि विद्युत प्राधिकरण अर्बौं रुपैयाँ घाटामा गयो भन्नेकुराको स्पष्ट जवाफ आग्रह गरे। लोड सेडिङको विषयमा पनि स्पष्ट ढंगबाट जनतालाई भन्नुपर्ने उल्लेख गरे।
उनले भने, ‘कुलमान घिसिङ बिदाई हुँदै गर्दा र हितेन्द्र शाक्य आइसकेपछि विद्युत प्राधिकरण अर्बौं रुपैयाँ घाटामा गयो भन्नेकुरा छ । यसबारेमा स्पष्ट पारिदिनुहोला । लोड सेडिङको विषयमा पनि स्पष्ट ढंगबाट जनतालाई स्पष्ट पार्नुपर्छ ।’
समितिको बैठकमा बोल्दै जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले साझा समस्या सोचेर मुलुकको लागि काम गरे सफलता हात लाग्ने बताइन्। उनले राम्रो मान्छे छान्ने भन्दा पनि भागबण्डाको लागि काम भइरहेको भन्दै आपत्ति जनाइन्।
बेथितिलाई थितिमा परिणत गरेर काम गर्नुपर्ने बताइन्। सरकारले राम्रो काम गरेको छ भनेर जनताको बीचमा बोल्न पाउने परिस्थिति निर्माण गरिदिन आग्रह गरिन्।
उनले भनिन्, ‘हामीले मुलुकको लागि काम गरौँ । साझा भएर गरौँ । राम्रो मान्छे छान्ने भन्दा पनि भागबण्डाको लागि काम भइरहेको छ । बेथितिलाई थितिमा परिणत गरौँ । राज्य नै हाम्रो अभिभावक हो । हामी नीति बनाउन आएका छौँ । साझा मुद्दा बनाएर काम गरौँ । सरकारले राम्रो काम गरेको छ भनेर जनताको बीचमा बोल्न पाउने परिस्थिति बनोस् ।’
समितिको बैठकमा बोल्दै नेपाली कांग्रेस सांसद शंकर भण्डारीले आग्रह पूर्वाग्रहबाट माथि उठ्न नसकेसम्म समग्रमा अरु कुनै तर्कले मुलुक बनाउन नसकिने बताए। देशको सबैभन्दा ठूलो समस्या नै आग्रह र पूर्वाग्रह रहेको बताए।
उनले भने, ‘आग्रह पूर्वाग्रहबाट हामी जबसम्म माथि उठ्दैनौँ, समग्रमा तबसम्म अन्य कुनैपनि तर्कले मुलुक बनाउन सक्दैनौँ । हाम्रो मुलुकको सबैभन्दा ठूलो समस्या नै आग्रह र पूर्वाग्रह हो । जबरजस्त ढंगले बिरोध गर्नु हो । विद्युत प्राधिकरण कसरी घाटामा छ हिजो नाफामा गएको हो भने त्यसलाई फेरि पुनःताजकी दिने कुरामा समिति र सरकार, कर्मचारी साथीहरु अघि बढाऔँ ।’
प्रकाशित मिति २०८२ जेठ ८ गते बुधबार १२:५७




