काठमाडौं ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपालले जलवायु अभियन्ता र सगरमाथा आरोहीद्वय बंगलादेशी नागरिक इक्रामुल हसन शाकिल र नेपाली नागरिक पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ ।
ललितपुरमा एक कार्यक्रकाबीच युएनडिपी नेपालले आरोहीद्वय शाकिल र श्रेष्ठलाई सम्मान गरेको हो ।
शाकिलले पहिलो पटक सगरमाथा आरोहण गरेका हुन् भने पूर्णिमाले भने एकै सिजनमा तीन पटक सगरमाथा चढ्दै इतिहास रचेकी छिन् । योसंगै उनी एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला बनेकी छिन् ।
प्लास्टिक प्रदुषण विरुद्ध जागरुकता भन्ने नाराका साथ सगरमाथा चढेका दुवैले हिमालका समस्याहरुलाई सरकारले विकासका एजेण्डासँग जोड्न आवश्यक रहेको बताए । सम्मान कार्यक्रममा बोल्दै उनीहरुले आफूले हिमाल आरोहणको क्रममा देखेका जलवायु परिवर्तनका असरहरू, वातावरणीय जोखिम र स्थानीय समुदायहरूको कठिन जीवनस्थिति कठिन बन्दै गएको बताए ।
सम्मान कार्यक्रममा युएनडिपी नेपालका नीति सल्लाहकार विजय सिंहले हिमाल संरक्षणका लागि उनीहरुले देखाएको जागरुकताको सदुपयोग देशले गर्न सक्नुपर्नेमा जोड दिए । उनले हिमालका समस्याहरुलाई सरकारको विकासको एजेण्डासँग जोड्न आवश्यक रहेको बताए ।
उनले भने, ‘युएनडिपीको हिमालको संरक्षण गर्नको लागि उहाँहरुको जुन जागरुकता छ त्यसको सदुपयोग गर्न खोजेको हो । उहाँहरुले आफूले भोगेको समस्या र हिमालमा देखेको दुर्गतिको विषयलाई सरकारको विकासको एजेण्डासँग कसरी लिंक गर्न सकिन्छ । त्यो आवश्यक पनि छ ।’
मानव जीवनको लागि हिमालको आवश्यकता अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताए ।
प्रकाशित मिति २०८२ जेठ १६ गते बिहीबार १०:४७




