पोखरा ।
अन्नपूर्ण प्रथम (८,०९१ मिटर) हिमालको सफल आरोहणको ७५ औं वार्षिकोत्सव (हिरक महोत्सव) को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाभित्र पालिकाले आगामी जेठ २० गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ।
फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइ लाशनालद्वारा सन् १९५० जुन ३ (वि.सं. २००७ जेठ २०) मा पहिलोपटक म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथमको सफल आरोहण गरिएको थियो। उक्त ऐतिहासिक दिनको सम्झनामा गाउँपालिकाले आगामी जेठ २० गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गएको २०८२ साल बैशाख २९ गतेको गाउँ कार्यपालिकाको बैठकबाट गरिएको निर्णय अनुसार अन्नपूर्ण गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, वडा कार्यालय तथा सार्वजनिक निकायहरूमा बिदा लागू हुनेछ।
यो निर्णय अनुसार राजपत्रमा समेत सूचना जेठ १६ गते प्रकाशित गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माका अनुसार अन्नपूर्ण दिवसलाई ऐतिहासिक र गौरवपूर्ण रुपमा मनाउन बिदा दिने निर्णय गरिएको हो।




