जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्नेमा राष्ट्रपति पौडेलको जोड
पोखरा ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
२०६३ साल जेठ २१ गतेका दिन सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । यसैको सम्झनामा २०६८ सालदेखि जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’ मनाइन्छ ।
नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ ।
संविधानको यो मर्मलाई आत्मसात् गर्दै जातीय विभेद र छुवाछूतलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरी सजायको कानुनी व्यवस्था समेत गरिएको छ । तर समाजमा जातीय भेदभाव तथा छुवाछूत अझै पनि अन्त्य भएका छैन ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताएका छन् ।
उनले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध भएको बताएका छन् ।
उनले सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात–जाति र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन र
जातीय छुवाछूत तथा विभेदविरूद्ध दृढतापूर्वक उभिँदै लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले छुवाछूत तथा विभेदविरूद्ध लाग्न राष्ट्रपतिले सम्पूर्ण व्यक्ति, परिवार, समाज, तीनवटै तहका सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था, नागरिक समाज र सञ्चारकर्मीलाई अझ बढी संवेदनशील हुन आह्वान गरेका छन् ।
प्रकाशित मिति २०८२ जेठ २२ गते बुधबार ०९:५८




