काठमाडौं ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यातायात व्यवसायीको हकहितको सुरक्षा र आम नागरिकलाई सुरक्षित र भरपर्दो यातायात सेवा दिनु सबैको साझा जिम्मेवारी रहेको बताएका छन् ।
आईतबार नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
यातायात क्षेत्रका समस्याको समाधानका लागि व्यवसायीहरूको एकता, प्रयास र सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ । सभापति देउवाले लोकतान्त्रिक मूल्य–मान्यतामा आस्था राख्ने व्यवसायीहरूको हक र हितका पक्षमा कांग्रेस पार्टी सधैं साथ रहने प्रतिवद्धता पनि व्यक्त गरे ।
उनले भने, ‘यातायात व्यवसायीको हकहितको सुरक्षाका साथै आम नागरिकमाझ भरपर्दो र सुरक्षित यातायात सेवा उपलब्ध गराउनु हाम्रो साझा दायित्व हो । यातायात क्षेत्रमा देखिएका विविध समस्याको समाधानतर्फ यहाँहरुको एकतावद्ध, प्रयास र सहकार्य अत्यन्त महत्वपूर्ण हुनेछ । लोकतान्त्रिक मूल्य मान्यतामा आस्थावान ठुलो संगठनमा रहनुभएका यातायात व्यवसायी साथिहरुको हक, हितका लागि सधैं साथ रहन्छ भन्ने विश्साश दिलाउन चाहन्छु ।’
सभापति देउवाले मुलुकको विकास र सेवा प्रवाहमा यातायात क्षेत्रको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस क्षेत्रलाई व्यवस्थित, सुरक्षित र जनमैत्री बनाउने दिशामा सरकार र सरोकारवाला पक्षले गम्भीरतापूर्वक पहल गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति २०८२ असार २ गते सोमबार ०९:२१




