काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली श्रम बजारमा विदेशी श्रमीकको बाहुल्यता विस्तार हुँदै गएको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले नेपालको श्रम र पुँजीबजार संकुचनमा रहेको बताए । पुँजीबजार गुञ्जायमान हुन नसकेको बताउँदै उद्योगमन्त्री भण्डारीले नेपालको श्रम बजार पनि अपेक्षा गरेको श्रम बजार बन्न नसकेको बताए ।
नेपालको श्रम बजार नेपालीले भन्दा अरुले नै आफ्नो बाहुल्यताको क्रमशः विस्तार गर्दै गइरहेको जिकिर गरे ।
नेपालको श्रम बजारले खोजिरहेको कुरा शिक्षा प्रणालीले दिन नसकेको बताए । श्रम बजारमा रहेका समस्याको समाधान गर्न सरकार लागिरहेको बताए । नेपाली श्रम बजार नेपालीहरु र नेपाली सीपको श्रम बजार बन्नुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘आज नेपालको श्रम र पुँजीबजार संकुचनमा छ । पुँजीबजार गुञ्जायमान हुन सकेन । त्यसैगरी नेपालको श्रम बजार पनि हामीले अपेक्षा गरेको श्रम बजार बन्न सकेन । श्रम बजार हेर्ने हो भने आज नेपालीले भन्दा अन्तैले श्रम बजार आफ्नो बाहुल्यताको क्रमशः विस्तार गर्दै गइरहेको छ । यो किन त रु यो हाम्रो पाठ्यक्रमले । नेपालको श्रम बजारले जे कुरा खोजिरहेको छ, हाम्रो शिक्षा प्रणालीले त्यो भन्दा फरक खालको उत्पादन गरिरहेको छ । आज एक जना दक्ष युवा जसले आफ्नो जिन्दगीका झन्डै २० वर्ष शिक्षामा लगानी गरेको हुन्छ, आमा बुबाले गाँस काटेर मेरो जस्तो कष्टकर जीवन मेरो सन्तानको नहोस् भनेर लगानी गरेको हुन्छ, उच्च तहको शिक्षा आर्जन गर्दछ, त्यति धेरै लगानी र आफ्ना जीवनका वर्ष कट्दा पनि आफ्नो विवेक प्रयोग गर्न सक्दैनौँ । श्रम बजारमा रहेका समस्याको समाधान गर्नुपर्नेछ । नेपालीहरुको श्रम बजार बन्नुपर्नेछ । नेपाली सीपको श्रम बजार बन्नुपर्नेछ । नेपालको श्रमको बजार बन्नुपर्नेछ ।’
मन्त्री भण्डारीले सरकारले आगामी आर्थिक वर्षको बजेटमा पढ्दै कमाउँदै भन्ने नयाँ कार्यक्रम ल्याएको बताए ।
प्रकाशित मिति २०८२ असार १६ गते सोमबार १२:२१




