काठमाडौ ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले निजामति कर्मचारी विधेयकबाट कुलिङ पिरियड कुनैपनि हालतमा नहट्ने बताएका छन् ।
सोमवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रतिनिधि सभाबाट आईतवार बहुमतले पारित भएको निजामति कर्मचारी विधेयकमा केही असमझदारी भएको कुरा आएको भन्दै समितिका सदस्यहरु बसेर स्पष्ट गरिएको उल्लेख गरे ।
कुनैपनि निजामति कर्मचारी वा अन्य कर्मचारीले राजीनामा दिएमा वा सेवाबाट हटेमा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश पाएको मितिले दुई वर्षको अवधि पूरा नभइ कुनैपनि संवैधानिक र सरकारी नियुक्ति कुनैपनि खान नपाउन स्पष्ट व्यवस्था गरिएको उनको भनाई छ ।
संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द रहेको भन्दै त्यसलाई सच्याएर राष्ट्रिय सभामा पठाइने उनले बताए ।
उनले भने, ‘हामीले हिजो संसदबाट बहुमतले र समितिले सर्वसम्मत गरेको निर्णयमा केही कन्फ्युजन भएको भन्ने कुरा आयो । हामीले समितिका सबै साथीहरु बसेर स्पष्ट भएर कुनैपनि निजामति कर्मचारी वा अन्य कर्मचारीले राजीनामा दिएमा वा सेवाबाट हटेमा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश पाएको मितिले दुई वर्षको अवधि पूरा नभइ कुनैपनि संवैधानिक र सरकारी नियुक्ति कुनैपनि खान पाउने छैन । संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द छ । बाहेक भन्ने शब्द सच्याएर राष्ट्रिय सभाले पठाउने भन्ने सहमति भएको छ । कुलिङ पिरियड कुनै हालतमा हट्दैन । हट्न दिइँदैन ।’
समितिबाट पारित भएको विधेयकमा संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द नराखिएको तर प्रतिनिधि सभामा पुग्दा बाहेक भन्ने शब्द राखेको पाएकाले प्रश्न उठेको थियो ।
सोही क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले समितिले पास गरेर पठाएको दुई वर्षको कुलिङ पिरियड राख्न धेरै संघर्ष गर्नुपरेको बताए ।
उनले भने, ‘हामीले पास गरेर पठाएको दुई वर्षको कुलिङ पिरियडको बारेमा यति धेरै लड्न प¥यो की लगातार पहिला त कार्यसूचिमै चढाउनकै लागि दर्जन पटक कुरा उठाइयो । संसदमा बोलेँ, प्रमुख सचेतकका रुपमा बोलियो ।’
उनले समितिबाट पास गरिएको विधेयक नै संसदबाट पनि पारित भएको आफूहरुको विश्वास रहेको बताए । उनले भन्ने एकथोक तर लेख्ने बेलामा कमा र र छुटाउने गरेको भन्दै यसमा आफूहरु सजग रहेको उल्लेख गरे ।
प्रकाशित मिति २०८२ असार १६ गते सोमबार ०४:२५




