२०८३ साउन २१ गते बिहीबार

आज हरिशयनी एकादशी, घर आँगनमा तुलसीको बिरुवा रोपिँदै

आज हरिशयनी एकादशी, घर आँगनमा तुलसीको बिरुवा रोपिँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २२ गते आइतबार ०९:०७

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ ।
आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ ।

पोखरा ।

आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी ।

सनातन धर्मावलम्बीहरुले आफ्नो घर आँगनमा तुलसीरोपण गर्दैछन् ।

हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरु भएको छ ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ ।

आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ ।

कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि त्यसै पूर्णिमामा चतुर्मास सम्पन्न हुने धर्मशास्त्री प्राडा देवमणि भट्टराई बताउँछन् ।

आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यतास्वरूप चार महिनासम्म विशेष मांगलिक कार्य गरिँदैन ।

यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत–उपवास र पूजापाठलाई महत्त्व दिइन्छ । वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्त्व दिइन्छ ।

वैष्णव धर्म लिएकाहरूले एकादशीलाई विशेष महत्त्व दिए पनि स्मृति मान्नेहरूले यसलाई सामान्य किसिमले मनाउँछन् ।

आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको उपयोग गरिन्छ । धेरै अक्सिजन दिने वनस्पतिका रूपमा तुलसीको महत्त्व छ ।

तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत छ ।

आइतबार ३८ घडी ३३ पला अर्थात् बेलुकी ८ बजेर ४० मिनेटसम्म एकादशी तिथि रहेको पञ्चांगमा उल्लेख छ ।

प्रकाशित मिति २०८२ असार २२ गते आइतबार ०९:०७
हजुरको प्रतिक्रिया