२०८३ साउन २१ गते बिहीबार

दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरीः राष्ट्रपति

दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरीः राष्ट्रपति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २३ गते सोमबार १२:२३

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताएका छन् । सोमवार राष्ट्रपति भवन शितलनिवासमा एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै उनले यस्तो बताएका...

काठमाडौ ।

राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताएका छन् ।

सोमवार राष्ट्रपति भवन शितलनिवासमा एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालीहरुमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरुले पाएको सफलता प्रशंसनीय र खुशी तुल्याउने खालको रहेको उल्लेख गरे ।

उनले परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउनसके देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने खेलाडीले थप कीर्तिमान पनि राख्नसक्ने जिकिर गरे ।

देशभित्रै बढी भन्दा बढी पूर्वाधार प्रतियागिता र प्रशिक्षण बढाएर देश, विदेशमा प्रतिष्पर्धा गर्नसक्ने दक्ष खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

उनले भने, ‘नेपालीहरुमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरुले पाएको सफलता प्रशंसनीय र खुशी तुल्याउने खालको छ । हामी सानो सानोमा बाख्रा चराउन जाँदा किर खेल्थिम । किरको विकास भएर अहिले आएर क्रिकेट भएको छ । हामीले पनि त्यसरी नै खेल्थिम । त्यसकै आज विकसित रुप क्रिकेट हो । हामीले हाम्रा परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकातर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिन्छ भने अर्कोतिर हाम्रा खेलाडीले थप कीर्तिमान पनि राख्न सक्छन् । यसका लागि देशभित्रै बढी भन्दा बढी पूर्वाधार प्रतियागिता र प्रशिक्षण बढाएर देश, विदेशमा प्रतिष्पर्धा गर्नसक्ने दक्ष खेलाडी उत्पादनमा हामी सबैको ध्यान जान आवश्यक छ ।’

एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट आईतवार साँझ स्वदेश फर्किएको हो ।

गत शनिवार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो ।

प्रकाशित मिति २०८२ असार २३ गते सोमबार १२:२३
हजुरको प्रतिक्रिया