२०८३ साउन २१ गते बिहीबार

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामी मर्कामा

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामी मर्कामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २३ गते सोमबार १२:५६

काठमाडौं । नेपाल चिकित्सक सङ्घको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द भएको छ । उपचारमा लापरबही गर्ने डाक्टर र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि सङ्घले चरणबद्ध...

काठमाडौं ।

नेपाल चिकित्सक सङ्घको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द भएको छ ।

उपचारमा लापरबही गर्ने डाक्टर र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि सङ्घले चरणबद्ध आन्दोलन थालेको हो ।

संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो । बिरामीको उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले पछिल्लो समय केही ग्रान्डी अस्पताल र चिकित्सकमाथि रु ५७ लाख १९ हजार क्षतिपूर्तिसहित कारबाहीको फैसला गरेको थियो ।

यसैगरी, हिमाल अस्पताल र त्यहाँ कार्यरत चिकित्सकलाई रु एक करोड ४५ लाख क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतले फैसला गरेको थियो भने ओम अस्पताललाई रु ५० लाख ७० हजार तिर्नुपर्ने फैसला गरेको थियो । चिकित्सक संघका महासचिव डा सञ्जीव तिवारीले चिकित्सा पेसालाई अत्यन्त संवेदनशील, वैज्ञानिक र नैतिक सेवा भएको बताउँदै यसलाई अन्य व्यवसायजस्तो मूल्याङ्कन गरी निर्णय गर्नु अस्वीकार्य हुने बताए।

उनले भने,‘नेपाल मेडिकल काउन्सिलजस्ता नियामक निकायलाई बेवास्ता गरी उपभोक्ता अदालतले गरेको कानुनी हस्तक्षेपले चिकित्सा क्षेत्रमा अन्योल सृजना गरेको र यस्ता विषयमा नेपाल मेडिकल काउन्सिलबाट मात्र मूल्याङ्कन हुनुपर्छ।’

संघले उपभोक्ता अदालतलाई उक्त निर्णय पुनरावलोकन गर्न र स्वास्थ्य मन्त्रालयलगायत सरोकारवाला निकायलाई तत्काल ध्यान दिन आग्रह गरेको छ ।

चिकित्सकहरूलाई सुरक्षित वातावरणमा काम गर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै संघले यस्तो वातावरण नभएमा स्वास्थ्य सेवामा गम्भीर असर पर्न सक्ने बताएको छ भने संघले नेपाल सरकारले उचित कदम नचाले सशक्त आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ ।

डाक्टरहरुको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् ।

प्रकाशित मिति २०८२ असार २३ गते सोमबार १२:५६
हजुरको प्रतिक्रिया