२०८३ साउन २१ गते बिहीबार

कृष्ण केसी लगायतको कारबाही बिना सर्त फुकुवा गर्न कांग्रेस कास्की–१ ‘ख’ समितिकाे माग

कृष्ण केसी लगायतको कारबाही बिना सर्त फुकुवा गर्न कांग्रेस कास्की–१ ‘ख’ समितिकाे माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ६ गते सोमबार ०५:१९

पोखरा । कृष्ण केसीसहितका नेताहरुमाथि भएको कारबाहीप्रति कांग्रेसका नेता तथा कार्यकर्ताले निःसर्त फुकुवाको माग गरेका छन् । कांग्रेस अनुशासन आयोगले गरेको कारबाही ्विरुद्ध कांग्रेसका नेता, कार्यकर्ता र भातृ संगठनका पदाधिकारीले...

पोखरा ।

कृष्ण केसीसहितका नेताहरुमाथि भएको कारबाहीप्रति कांग्रेसका नेता तथा कार्यकर्ताले निःसर्त फुकुवाको माग गरेका छन् । कांग्रेस अनुशासन आयोगले गरेको कारबाही ्विरुद्ध कांग्रेसका नेता, कार्यकर्ता र भातृ संगठनका पदाधिकारीले कारबाही अनुपयुक्त, विरोधाभास, व्यक्ति केन्द्रीत र राजनीतिक प्रतिशोधको रुपमा आएको भन्दै उनीहरुले तुरुन्त बिनासर्त फुकुवा गर्न माग गरेका हुन् ।

यसैबीच, नेपाली कांग्रेस प्रदेश सभा, क्षेत्रीय कार्यसमितिको कार्यालय क्षेत्र नं १ ख कास्कीको पूर्ण बैठकले निर्णय गर्दै कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजकलाई अनुशासनको कारबाही पुनरावलोकन खारेजु सम्बन्धमा पत्र लेख्दै कारबाहीप्रति गम्भिर आपत्ति प्रकट गरिएको छ ।

सभापति कृष्णप्रसाद कोईराला, समितका पदाधिकारीसहित २८ जनाले लिखित रुपमा सो आपत्ति जनाउदै कारबाही पूर्णतः अन्यायपूर्ण, पूर्वाग्रही र गुटको प्रभावमा आधारित भएकोले आपत्ति प्रकट गरिएको जनाईएको छ । पत्रमा लेखिएको छ ‘नेपाली कांग्रेसभित्र पार्टी विधान, लोकतान्त्रिक मूल्य र सांगठनिक मर्यादाको विपरित प्रतिशोधपूर्ण, पूर्वाग्रही र गुटबन्दिको प्रभावमा २०८२ असार २५ गते केन्द्रीय संयोजक आनन्द ढुंगानाको नाममा प्रेसित अनुशासनको कारबाही गरिएको घटनाले पार्टी अनुशासित कार्यकर्ता र आम कांग्रेस परिवारलाई दुःखी र आक्रोसित बनाएको छ ।’

कास्कीका निवर्तमान सभापति नेता कृष्ण केसी, पूर्व आमन्त्रित केन्द्रिय सदस्य कुमार खड्का र भावना श्रेष्ठ लगायतका नेता, कार्यकर्तामाथि गरिएको कारबाहीले नेपालको ठूलो र पूरानो पार्टीप्रति जनतामा बितृष्णा बढाएको र नजिकिदै गरेको १५ औं महाधिवेशन तथा आम निर्वाचनको समयमा बिगत ३ वर्ष अगाडी भएको निर्वाचनको विषयलाई लिएर हाल आएर भएको अन्यायपूर्ण निलम्वनले कांग्रेसमा गुट, अवसरवादी प्रवृत्तिको मौन स्वीकार्यता झल्काएको उल्लेख छ ।

पत्रमा पार्टीको निर्णय लोकतान्त्रिक प्रक्रिया र निष्पक्ष छानबिनको आधारमा हुनुपर्नेमा व्यक्तिविशेषका आन्तरिक स्वार्थ र सत्ता लोलुपताले प्रभावित भई कारबाही गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ । कारबाहीको विरुद्धमा अगाडी लेखिएको छ, ‘सो निर्णयले पार्टी नीति, विधान र लोकतान्त्रिक मूल्यहरुमाथि प्रहार गरेको छ । पार्टीका शुभचिन्तक र विभिन्न समितिहरुले यो निर्णय फिर्ता लिन माग गर्दछौं ।’

प्रकाशित मिति २०८२ साउन ६ गते सोमबार ०५:१९

हजुरको प्रतिक्रिया