२०८३ साउन २१ गते बिहीबार

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ८ गते बुधबार ११:४९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउने चाहनालाई नेकपा (एमाले) ले रोकिदिएको छ । मंगलवार (साउन ६ गते) मध्यराति सम्पन्न एमाले केन्द्रिय कमिटी बैठकले राष्ट्रिय एकता र गणतन्त्रको प्रतिकका रुपमा रहेको...

काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउने चाहनालाई नेकपा (एमाले) ले रोकिदिएको छ ।

मंगलवार (साउन ६ गते) मध्यराति सम्पन्न एमाले केन्द्रिय कमिटी बैठकले राष्ट्रिय एकता र गणतन्त्रको प्रतिकका रुपमा रहेको तथा राष्ट्रिय गौरवको व्यक्तित्व राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउँदा यसले गणतन्त्र, स्थापित प्रणाली र संविधानमा असर पर्ने एमालेको निष्कर्ष रहेको सुनाएका छन् । पूर्वराष्ट्रपतिलाई गणतन्त्रको प्रतिकका रुपमा सबैले सम्मान गरेको स्पष्ट पार्दै उनले त्यो सम्मान कायम राख्न आग्रह पनि गरे । एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई नेपालको संविधानको धारा ६१ बारे पनि स्मरण गराएको छ ।

प्रचार विभाग प्रमुख गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले मात्रै नभएर सबै दलले एकताको प्रतिकका रुपमा सम्मान गरेको कुरा पनि स्मरण गराए । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराईले पनि उनलाई सम्मान गरिसकेको स्पष्ट पार्दै राष्ट्रिय एकताको प्रतिक एउटा दलमा आवद्ध हुने कुरा अमान्य रहेको गौतमको भनाई थियो ।

प्रचार विभाग प्रमुख गौतमले यो निष्कर्षमा तीनजना नेताहरू उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति व्यक्त गरेको जानकारी पनि दिए । केन्द्रिय कमिटीले ‘सर्वसम्मत’ निर्णय गरिसकेपछि उनीहरूले उठेर यसमा ‘नोट अफ डिसेन्ट’ राखेको प्रचार विभाग प्रमुख गौतमले बताए ।

प्रकाशित मिति २०८२ साउन ८ गते बुधबार ११:४९
हजुरको प्रतिक्रिया