काठमाडौं ।
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरु जबजवादी नभएको स्पष्ट पारेको बताएका छन् ।
पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसमा हिजो पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा खुलस्त पारका हुन् ।
पार्टी विभाजन भएदेखि नेपालले आफूहरु जबजवादी नभएको र जबज नमान्ने बताएको अध्यक्ष ओलीको भनाइ छ ।
त्यस्तै अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री झलनाथ खनालप्रति लक्षित गर्दै पाँचौँ महाधिवेशनबाटै जबज नमान्ने घोषणा गरिसकेको उल्लेख गरे ।
माधव नेपालले जबज मान्दैनौँ भनेर साँचो कुरा गरेको र साँचो कुरा गर्न यति लामो समय लागेको उनले बताए । उनले कुनैबेलामा जबजको बाँसुरी बजाए नेता हुन पाइन्छ भन्दै जबजको बाँसुरी बजाउनेहरु रहेको पनि टिप्पणी गरे ।
उनले भने, ‘नेता हुनका लागि जबजको बाँसुरी कसले राम्रो बजाउने भन्नेकुरामा जबजको बाँसुरी त्यति मात्रै होइन, सिद्धान्त हो भने कसैले । कसैले म सिद्धान्त बनाइदिन्छु भन्यो । मानिलिऔँ जबज यस्तो चिज हो की यसबाट उ, उबाट उ बनाउन सकिन्छ, जबजलाई सिद्धान्त बनाइदिने आठौँ महाधिवेशनमा भने । नवौं महाधिवेशनमा पुग्दा मार्गदर्शक सिद्धान्त भने । मार्गदर्शक सिद्धान्त हामीले जसरी भन्दै आएका छौँ, माक्र्सवाद लेनिनवादलाई त्यसै स्टाटसमा हामीले जबजलाई मार्गदर्शक सिद्धान्त भनेको होइन । मार्ग दर्शक सिद्धान्त कुन अर्थमा मात्रै भनेका हाँै भने हाम्रा सबै कामहरुलाई मार्ग दर्शन गर्नुछ, बाटो देखाउनुछ । सैद्धान्तिक रुपमा नभइ व्यवहारिक रुपमा हाम्रा कामहरुलाई बाटो देखाउँछ भन्ने अर्थमा मार्गदर्शक सिद्धान्तकै रुपमा स्वीकार गरेका हौँ । पछि जबज हाम्रो होइन भनेर पार्टी विभाजन भएदेखि । कोही कोही त पाँचौँ महाधिवेशनदेखि नै दक्ष प्रजापतिको टाउको भन्नेहरु स्पष्टै थियो । कोही कोही पछि पार्टी विभाजन भएपछि खुलेर भने हामी जबजवादी होइनौँ । जबजको पक्षमा छैनौँ । जबज मान्दैनौँ भनेर माधव नेपाल लगायतले भने । त्यो राम्रै गरे । साँचो कुरा गरे । तर साँचो कुरा गर्न यति लामो समय लाग्यो ।’
प्रधानमन्त्री ओलीले जबज एमाले पार्टीको सामुहिक बुद्धिको उपज भएको दाबी गरे । मदन भण्डारीको अगुवाईमा संश्लेषण गरिएको तत्कालीन समयको सामना गर्न तयार गरिएको नीति भएको ओलीको भनाइ थियो ।
प्रकाशित मिति २०८२ साउन ९ गते बिहीबार ०९:०५




