समयमै वर्षा नभएपछि किसानले चरम खडेरी र सुख्खा झेल्दै
पोखरा ।
मधेश प्रदेशलगायत तराईका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल हुँदा धान रोपाइँ प्रभावित भएको छ ।
देशभर मनसुनी प्रणाली सक्रिय भएको लगभग दुई महिना हुँदा पनि मधेश प्रदेशका आठ जिल्लामा वर्षा हुन सकेको छैन ।
समयमै वर्षा नभएपछि त्यहाँका किसानले चरम खडेरी र सुख्खा झेल्नु परेको छ ।
मधेश प्रदेश सरकारको सिफारिशमा संघको मन्त्रिपरिषद्ले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।
यता सरोकारवालहरूले धान उत्पादनमा नै ह्रास आउन सक्ने भन्दै चिन्ता जनाएका छन् ।
धान रोपाइँका लागि वर्षाको पानीको भर पर्नु पर्ने त्यहाँका किसानले पानीको अभावका कारण साउनको पहिलो हप्तासम्म पनि रोपाइँ गर्न पाएका छैनन् ।
रोपाइँ भइसकेका खेतहरू पनि धाँजा फाट्ने र धानका बिउ सुक्ने जस्ता समस्या देखापरेका छन् ।

मधेश प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार अहिलेसम्म मधेश प्रदेशमा जम्मा ४७ प्रतिशतमात्र रोपाइँ भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृृषि विभागका अनुसार गएको वर्ष यही समयमा मधेशमा करिब ८० दशमलव ६ प्रतिशत रोेपाइँ भइसकेको थियो ।

यस प्रदेशमा तीन लाख ७२ हजार ६ सय ४५ हेक्टरमा रोपाइँ हुने गर्छ ।
मधेश प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा.सरोज चौधरीले वर्षा हुन नसक्दा धानको बीउ डढ्न थालेको, भइसकेको रोपाइँसमेत सिँचाइ नपाएर सुक्न थालेको बताए ।
मधेश प्रदेशमा कुल खेतीयोग्य जमिनको ४९ प्रतिशत जग्गामा मात्र सिँचाइ सुविधा छ ।
धेरै किसान आकाशबाट पानी कहिले पर्ला अनि रोपाइँ गरौँला भनेर बस्नुपर्ने बाध्यतामा छन् ।
मधेश प्रदेशमा नेपालमा खेती गरिने कुल जग्गाको १६ दशमलव २५ प्रतिशत जग्गामा खेती हुने गरेको सरकारी तथ्याकं छ ।
प्रकाशित मिति २०८२ साउन १० गते शुक्रबार १०:०५




