२०८३ साउन २१ गते बिहीबार

काँग्रेसलाई एमालेले भन्योः संशोधन राख्न सांसदहरु स्वतन्त्र छन्

काँग्रेसलाई एमालेले भन्योः संशोधन राख्न सांसदहरु स्वतन्त्र छन्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १० गते शुक्रबार ०१:०४

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सत्ता साझेदार नेपाली काँग्रेसलाई संघीय निजामति विधेयकबारे आफ्ना सांसदहरुको संशोधन प्रश्ताव स्वतन्त्र रुपले राखेका बताएको छ । राष्ट्रिय सभामा रहेको निजामति विधेयकमा कुलिङ पिरियड हटाउनेबारेमा...

काठमाडौं ।

सत्तारुढ दल नेकपा एमालेले सत्ता साझेदार नेपाली काँग्रेसलाई संघीय निजामति विधेयकबारे आफ्ना सांसदहरुको संशोधन प्रश्ताव स्वतन्त्र रुपले राखेका बताएको छ ।

राष्ट्रिय सभामा रहेको निजामति विधेयकमा कुलिङ पिरियड हटाउनेबारेमा एमाले सांसदहरुले संशोधन प्रश्ताव दर्ता गराएका छन् । यसबारेमा संसदमा बहस भइरहेको छ ।

काँग्रेसको जिज्ञासामा आफ्ना सांसदहरु संशोधन हाल्नका लागि स्वतन्त्र रहेको कुरा बताएको काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

शुक्रवार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकपछि बैठकबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले काँग्रेसले कुलिङ पिरियडमा एमाले सांसदहरुको संशोधनबारे बुझ्दा एमालेले संशोधनका लागि सांसदहरु स्वतन्त्र रहेको र त्यहीअनुसार संशोधन आएको बताएको जानकारी दिए ।

सरकारले ल्याएकै भूमि ऐनमा पनि काँग्रेसका केही सांसदहरुले संशोधन राखेकाले यसलाई सामान्य रुपमा बुझ्नुपर्ने उनले बताए ।

उनले भने, ‘उहाँहरुको समग्र पार्टीको तर्फबाट कुरा के आएको छ भने सांसदहरुले आफ्नो ढंगले संशोधन प्रश्ताव राखे । सांसदहरु स्वतन्त्र हुन्छन् । आफ्नो संशोधनहरु राख्न स्वतन्त्र हुन्छन् । भूमि ऐनमा हाम्रा १०÷१२ जना सांसदहरुले राख्नुभयो । तर त्यो सरकारबाटै आएको थियो । सरकारबाटै आएको विधेयकमा पनि राख्ने प्रचलन भएकाले राखिएको हो भन्ने छ । छलफल गरेर अघि बढ्ने विषय छ ।’

कुलिङ पिरियडबारे थप छलफल गरेर टुंग्याइने पनि प्रमुख सचेतक घिमिरेले बताए ।

प्रकाशित मिति २०८२ साउन १० गते शुक्रबार ०१:०४
हजुरको प्रतिक्रिया