काठमाडौ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले नेपालको मुख्य दुश्मन राजतन्त्र नभएको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले उठ्न जमर्को गरेपनि नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुश्मन नभएको उल्लेख गरे ।
उनले नेपालमा अहिले दलाल पुँजीपतिहरु, विचौलियाहरु,ले नेपाल राज्यलाई विध्वंश बनाइरहेको जिकिर गरे ।
नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठीभर दलालहरुले आफ्नो कब्जामा लिएको उनको भनाई छ ।
उनले आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य वाधक भएको जिकिर गरे ।
अध्यक्ष प्रचण्डले भने , ‘नेपालमा अहिले दलाल पुँजीपतिहरु, विचौलियाहरु, केही थोरैले नेपाल राज्यलाई विध्वंश पार्दैछन् । नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठीभर दलालहरुले आफ्नो कब्जामा लिएका छन् । आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य वाधक भएको छ । आजभोलि साँच्चै दयनीय स्थिति छ । हामीले विधायिकातिर हेर्दा लाजमर्दो स्थिति छ । संघीय निजामति विधेयकमा के भयो छेडखानी ? सबै सांसदहरु अपमानित हुनेगरी चलखेल र छेडखानी कसले ग¥यो ? अदालत, व्युरोकेसी, भ्रष्टाचार सर्वत्र छ । यसका विरुद्ध हामी लड्नुपर्छ । अहिले नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुश्मन छैन नेपालमा । उठ्न जमर्को गरेपनि त्यो उठ्नेवाला पनि होइन ।’
अध्यक्ष प्रचण्डले भ्रष्टाचार, दलाल पुँजीवाद, नोकरशाही पुँजीवादको विरुद्ध सबै एक हुने संकल्प गर्न जरुरी रहेको बताए ।




