पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।
बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने गरि बोलाइएको छ ।
आज बस्ने बैठकमा समसामयिक राजनैतिक एवं पार्टी गतिविधिबारे छलफल हुने पार्टी प्रवक्ता मनीष झाले जानकारी दिए ।
बैठकमा रुपन्देहीमा बसेको संसदीय दलको बैठकको अपडेट, रुपन्देही–३ उपनिर्वाचन तयारी र दल दर्ताबारे छलफल हुने जनाइएको छ ।
यसका साथै सुदूरपश्चिम प्रदेश समस्या समाधान, विधान ब्याख्या, अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना हुने फ्युचर लिडर्स समिट, भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप लगायत विविध विषयमा पनि छलफल हुने प्रवक्ता झाले बताए ।
यता रास्वपाको समानुपातिक सांसद उम्मेदवारको सूचीमा रहेकी कुसुम महर्जनले आफ्नो नाम हटाइदिन निवेदन दिएकी छन् ।
महर्जनले दिएको निवेदनमाथि पनि आज रास्वपाले छलफल गर्दैछ । आज दिउँसो बस्ने बैठकमा उनको निवेदनमाथि निर्णय हुनेछ ।
महर्जन यसअघि ०७९ को निर्वाचनमा रास्वपाको समानुपातिक सूचीको आदिवासी जनजाति कलस्टरमा छिन् ।
रुपन्देही स्थायी घर भएकी कुसुम हाल काठमाडौंमै बस्दै आएकी छन् ।
अहिले पार्टीले उम्मेदवारको छनोट प्रक्रिया सुरु गरेकाले कुसुमले उम्मेदवारी दिनका लागि समानुपातिक उम्मेदवारको सूचीबाट नाम हटाउन निवेदन दिएको बुझिएको छ ।
प्रवक्ता मनीष झाका अनुसार आजको बैठकमा उपनिर्वाचनमा सहभागी हुनका लागि दल दर्तालगायतका विषयमा निर्णय हुनेछ ।
प्रकाशित मिति २०८२ साउन २१ गते मंगलबार ०९:५१




